पोखरा — पोखरा उद्योग वाणिज्य संघको आसन्न ३८औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले आफ्नो उम्मेदवारी घोषणा गर्दै १७ बुँदे प्रतिबद्धता तथा कार्ययोजना सार्वजनिक गरेका छन्।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत बुद्धाचार्यले ‘परिपक्व नेतृत्व, जिम्मेवार संघ, सुरक्षित व्यवसायी’ भन्ने मूल नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले व्यवसायीको साझा आवाज, भरोसायोग्य व्यावसायिक संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा पोखरा उद्योग वाणिज्य संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
बुद्धाचार्यले आफूले संघमा कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने क्रममा व्यवसायीका समस्या, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए। सो अनुभवका आधारमा आगामी नेतृत्वका लागि आफू अघि बढेको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा उनले अहिलेको व्यावसायिक वातावरण विगतको भन्दा फरक र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। बजारको स्वरूप परिवर्तन हुनु, प्रविधिको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्नुका साथै कर, बैंकिङ, प्रशासनिक प्रक्रिया, बजार प्रतिस्पर्धा, लगानी, दक्ष जनशक्ति र बजार पहुँचलगायतका विषयमा व्यवसायीले चुनौती सामना गरिरहेको उनले बताए।
‘यस्तो अवस्थामा उद्योग वाणिज्य संघ केवल व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने संस्था मात्र नभई समस्या समाधानमा सहजीकरण गर्ने, नयाँ अवसर पहिचान गर्ने, व्यवसायीलाई प्रविधि र बजारसँग जोड्ने तथा नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ,’ बुद्धाचार्यले भने।
उनले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्धको प्रतिस्पर्धा नभई पोखरा उद्योग वाणिज्य संघलाई समयको आवश्यकता र व्यवसायीको बदलिँदो अपेक्षाअनुसार थप प्रभावकारी बनाउने प्रयास भएको स्पष्ट पारे।
यस्ता छन् १७ बुँदे प्रतिबद्धता
बुद्धाचार्यले अनुभवी, सक्षम र समन्वयकारी नेतृत्व मार्फत सबै क्षेत्र, वर्ग र पुस्ताका व्यवसायीलाई समेट्ने प्रतिबद्धता जनाएका छन्। संघका गतिविधि र सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही, सुशासनयुक्त र व्यवसायीमैत्री बनाउने उनको योजना छ।
त्यसैगरी प्रदेश, संघ तथा स्थानीय सरकारसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री नीति निर्माणका लागि प्रभावकारी पैरवी गर्ने उनले बताएका छन्।
व्यवसायीका कर, कानुन, बैंकिङ, दर्ता, नवीकरण तथा प्रशासनिक समस्याको सहजीकरणका लागि ‘व्यवसायी सहायता केन्द्र तथा विशेषज्ञ सहायता टिम’ स्थापना गर्ने उनको योजना छ।
युवा, महिला तथा नयाँ उद्यमीलाई सीप, परामर्श, प्रविधि, वित्तीय पहुँच, नेटवर्किङ र बजारसँग जोड्दै उद्यमशीलता प्रवर्द्धन गर्ने, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग बढाउने र व्यवसायीको क्षमता अभिवृद्धिका लागि रि–स्किलिङ तथा अप–स्किलिङ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, बजारीकरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि ‘लोकल टु ग्लोबल’ अभियान सञ्चालन गर्ने उनले बताएका छन्।
पर्यटन, लगानी र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, पोखरालाई अन्तर्राष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास, खेल पर्यटनमार्फत लगानी तथा व्यवसाय प्रवर्द्धन र ‘ग्रेटर पोखरा’ अवधारणामार्फत साझेदारी विकास गर्ने योजना पनि उनले अघि सारेका छन्।
यस्तै स्थानीय उत्पादन, व्यापार विस्तार, बजार पहुँच तथा लगानी आकर्षणका लागि मेला–महोत्सवलाई प्रभावकारी माध्यम बनाउने, व्यवसायीलाई सहुलियत दिने उद्देश्यले ‘मिड–इयर सेल कार्यक्रम’, व्यवसायसम्बन्धी तथ्यांक संकलन तथा व्यवस्थापनका लागि ‘व्यवसायिक डाटा बैंक तथा व्यवस्थापन केन्द्र’ स्थापना गर्ने उनले बताएका छन्।
पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिदलाई प्रोत्साहन गर्दै स्थानीय बजार विस्तारका लागि ‘Buy Pokhara’ अभियान सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।
बुद्धाचार्यले व्यवसायीको आवाजलाई नीतिनिर्माणसँग जोड्दै पोखराको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा आफू दृढतापूर्वक अघि बढ्ने बताए।
‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धिलाई मूल ध्येय बनाउँदै पोखरा उद्योग वाणिज्य संघलाई बलियो, आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्था बनाउने मेरो प्रतिबद्धता हो,’ उनले भने।
पत्रकार सम्मेलनमा उनले उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाबाट प्राप्त सुझाव, प्रश्न, आलोचना र रचनात्मक प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गर्दै अघि बढ्ने बताए।
उत्तममान बुद्धाचार्य पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका बुद्धाचार्यले आफ्नो व्यावसायिक अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताएका छन्।