कास्की खेलकुद विकास समितिद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग

पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिले बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ।


समितिका अध्यक्ष मिलन गुरुङ,सचिव अञ्जु  केसीले मंगलबार  कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेका हुन्।

 

समितिले आफूले प्राप्त गर्ने एक वर्षको बैठक भत्तामा अन्य  रकम  थप गरेर बाढीपीडितको राहतका लागि सहयोग गरेको हो। बैठक बापत प्राप्त हुने रकममा समितिका पदाधिकारी र सदस्यहरुले गरेर रकम थप गरेर हस्तान्तरण गरिएको हाे । बाढीका  कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा आफूहरूले पाउने बैठक भत्ताको रकमसमेत राहतका लागि प्रदान गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

 

रकम हस्तान्तरण गर्दै समितिका अध्यक्ष मिलन गुरुङले देशले भोगिरहेको विपत्तिमा समितिका तर्फबाट सानो भए पनि सहयोग गर्ने उद्देश्यले बैठक भत्ताको रकम राहत कोषमा प्रदान गरिएको बताए।

 

“देशले ठूलो विपत्ति भोगिरहेको अवस्थामा पीडित परिवारको दुःखमा साथ दिन समितिका तर्फबाट सानो भए पनि सहयोग गरेका हौँ,” अध्यक्ष गुरुङले भने।

 

यसैबीच, कास्की जिल्ला खेलकुद विकास समितिले जिल्लामा समितिअन्तर्गत दर्ता रहेका विभिन्न खेल संघ तथा संस्थालाई पनि बाढीपहिरो प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न आह्वान गरेको छ।

 

समितिका कार्यालय प्रमुख डिबी नेपालीले विपद्को यस घडीमा खेल क्षेत्रसँग आबद्ध संघसंस्थाले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा सहयोग अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...