पोखरा । विक्रमको २०४२÷०४३ सालतिर अहिले पोखराको मुटु भनेर चिनिने चिप्लेढुङ्गा बजार यस्तो गुल्जार थिएन । उसो त, दिउँसै स्याल डुल्ने, फाट्टफुट्ट घरहरु भएको चिप्लेढुङ्गाले बजारकै उपमा गुथ्न पनि बाँकी नै थियो । अहिलेको चिप्लेढुङ्गालाई ‘पोखराको मुटु’ उपमाले सजाउन अनेकौ व्यवसायीका दुरदृष्टि, पसिना र संघर्षका कथाहरु छन् ।चालिसको दशकदेखि आजसम्म निरन्तर चिप्लेढुङ्गामै उभिएको र उसले प्राप्त गरेको उपमामा केहि योगदान गरेको एउटा व्यवसाय हो– ‘एलिगेन्स ट्रेड सेन्टर’ र सुनचाँदी व्यवसायीको पुस्तैनी पृष्ठभूमि भन्दा बाहिर फ्लोरिङ् तथा फर्निसिङ् व्यवसाय शुरु गर्ने व्यवसायी हुन् उत्तममान बुद्धाचार्य ।

सो बेला पोखरामा विस्तारै पर्यटकीय गतिविधिको चहलपहल शुरु हुँदै थियो । अहिलेजस्तो बाटोको सहज सुविधा थिएन । ढुवानीका लागि न त पर्याप्त सवारी साधन नै थिए । आधुनिक सिप भएका कामदार पाउनु फलामको च्युरा चपाउनुसरह थियो । यद्यपी, पोखरामा होटल व्यवसाय फस्टाउँदै गयो र त्यहाँ सोफा, कुर्ची लगायतका सामानको आवश्यकता बढ्दै गयो । होटल मात्रै होइन, विभिन्न अफिससहित घरायासी प्रयोजनका लागि समेत फर्निचरको माग बढन थाल्यो । उत्तमले फर्निचरसँगै आधुनिकता पछ्याउँदै गरेको पोखराका लागि पर्दा, कार्पेट, डोरम्याटलगायतका सामाग्रीहरु भारतदेखि मगाएर परिपूर्ति गर्न थाले । पोखरा आधुनिक बन्दै गयो, आवश्यकताहरु थपिँदै गए । उनी भन्छन, ‘त्यो बेला मैले इलेक्ट्रिक सामानहरु फ्रिज, पंखा, कटलरी सामानहरु समेत थप गरेर व्यापार गर्न थालेँ।’

उत्तम व्यापार, व्यवसायमा मात्रै होइन, सानैबाट सामाजिक कार्यमा समेत सहभागी भइरहन्थे ।१४÷१५ वर्षकै उमेरमा उनी पोखरा कै मोहोरिया टोलमा रहेको ‘मोहोरियाटोल चिल्ड्रेन क्लब’ मा आवद्ध भए । पछि सोहि टोलमा ‘संगम युथ ग्रुप’ स्थापना भएपछि उनी यसमा पनि सक्रिय रहे । सो ग्रुपमा रहेर बुद्धिचाल प्रतियोगिता, धुम्रपान विरुद्धको सचेतनामुलक कार्यक्रम, सडकमा स्पिड ब्रेकर अभियानको थालनीजस्ता पूर्वस्मृतिले उत्तम नोस्टाल्जिक बन्छन् ।
आध्यात्मिक स्वभावका उत्तमले बुद्ध दर्शन अध्ययन गरेका छन् । ‘बुद्ध धर्म संघ’ नामक संस्था स्थापना गरेका उत्तमले अहिलेपनि सक्रिय रुपमा सो संस्थामार्फत गतिविधिहरु गरिरहेका छन् र्। संगीत क्षेत्रमा झुकाव राख्ने उत्तमको नाम पोखराको ‘संगित प्रशिक्षण केन्द्र’को संस्थापकमा समेत जोडिन्छ ।यति मात्रै होइन, उनी लायन्स क्लब, रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, पोखराको अनदु डाडाँमा रहेको विश्व शान्ति स्तुप लगायत विभिन्न संस्थाको समितिमा रहेर काम गरिसकेका छन् ।

उत्तमको व्यवसायिक र सामाजिक सक्रियता देखेर उद्योग वाणिज्य संघमा जोडिन उनलाई साथीभाई र परिवारले घच्घच्याउन थाले । छोराहरुले विस्तारै व्यवसायमा हातेमालो गर्न थालेपछि उत्तमले संघमा जोडिएर काम गर्ने मनसाय बनाए । वि. सं. २०७३ मा कार्यसमिति सदस्यका रुपमा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएका उत्तम अत्याधिक मत ल्याएर विजयी भए । एक कार्यकाल सदस्यका रुपमा रहेर काम गरेपछि उनी वाणिज्य उपाध्यक्षका रुपमा निर्वाचित भए । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् ।
यतिबेला पोखरा उद्योग वाणिज्य संघलाई चुनावी रन्को छ । संघको ३६ औं महाधिवेशनमा उत्तमले आफूलाई अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गर्दै उमेद्वारी घोषणा गरेका छन् ।उत्तमलाई लाग्छ, ‘व्यवसायिक हक हितका लागि पोखरा उद्योग वाणिज्य संघ सही स्थान हो र यसले व्यवसायीकै हितका लागि काम गर्छ ।’ उत्तमका अनुसार पोखरा उद्योग वाणिज्य संघसंग आवद्ध करिब २० वटा अन्य व्यवसायिक संघसंस्था छन् । व्यवसायीलाई केही समस्या परेको अवस्थामा कानुनीदेखि अन्य विभिन्न समस्याको समाधानमा संघ उभिन्छ । संघमा आवद्ध नभएका व्यवसायीको समस्यामा पनि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।
उत्तम संघमा अध्यक्षको लागि आफ्नो उमेद्वारी कुनै व्यक्ति वा समूहविरुद्ध नभएको दावी गर्छन् । आफुँ अहिले संघको वरिष्ठ उपाध्यक्ष भएकोले अध्यक्षमा स्वत ः आफ्नो उम्मेदवारी रहने, बलियो व्यवसायिक उपस्थिती, लामो समयको व्यवसायिक अनुभव र आफ्नो सामाजिक छवि उम्मेदवारीको बलियो आधार रहेको उत्तमको तर्क छ । अध्यक्षका लागि निर्वाचन अघि टिम बनाउनेतर्फ नलागि संघका सदस्यको विश्वास जितेर निर्वाचित भएर आउने साथीहरुलाई एकतावद्ध गरि अघि बढनु संघको हितमा रहेको उत्तमको ठम्याई छ ।
पोखरा उद्योग वाणिज्य संघलाई आधुनिक, पारदर्शी प्रविधि एवं व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रुपमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको उनी बताउँछन् ।‘व्यवसायीको आवाजलाई नीतिसँग, अवसरलाई उद्यमसँग र पोखराको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा काम गर्नेछु ।’ उनी भन्छन, ‘मैले यो चुनाव जितेर आएको खण्डमा हाम्रा साना–ठूला व्यवसायी, जसको समस्या सुन्ने र समाधानमा संघले नै पैरवी गर्ने मेकानिजम बनाउँछु ।’
पोखरामा रहेका साना तथा ठूला व्यवसायीको समस्याको रुपमा उत्तम ट्राफिक व्यवस्थापन तथा सामान ढुवानीलाई समस्याका रुपमा लिन्छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राय व्यवसायी यो समस्याबाट गुज्रिरहेको उनको अनुभव छ । ‘यो विषयमा स्थानीय सरकारसंग हाम्रो छलफल भइरहेको छ, यसलाई वैज्ञानिक र सुव्यवस्थित तरिकाले पार्किङको व्यवस्थापन गर्नु एकदमै जरुरी छ ।’ उनी भन्छन् ‘व्यापारी र घरधनीबीच बहाल सम्बन्धी समस्या देखिन्छ, उहाँहरुलाई संगै राखेर समस्याको समाधान गर्ने प्रक्रिया जारी छ ।’
उमेद्वारी दिने निर्णय आफ्नो र पदको लागि मात्रै नभएर पोखरामा रहेर पोखरा उद्योग वाणिज्य संघसंग आवद्ध भएका वा नभएका सानाठूला व्यवसायीका लागि भएको उनको भनाई छ । कुनै पनि सानाठूला व्यवसायीको लडाईँ एक्लो व्यवसायीको लडाईँ मात्र नभएर सम्पूर्ण यस क्षेत्रसंघ सम्बन्धित व्यक्तिको भएको उनको ठम्याईँ छ । यसका लागि एकजुट हुनै पर्नेमा उनी जोड दिन्छन् । यो समयमा आउने सल्लाह, सुझाव सहित आलोचनाको लागि समेत तयार छन् उनी । सबैको सल्लाह सुझाव र आलोचनालाई शिरोपर गर्दै अगाडि बढ्ने उनले बताए । ‘नयाँ अवसर पहिचान गर्ने, व्यवसायीलाई प्रविधि र बजारसँग जोड्ने तथा नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।’ उनले भने, ‘एआईको जमानामा पोखरामा रहेका व्यवसायीलाई प्रविधिमैत्री बनाउँदै उहाँहरुको हकहितका लागि लड्ने र समस्या आइपर्दा एकजुट भएर हिड्ने मेरो नेतृत्वको योजना हुनेछ ।’