फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जना घाइते

पोखरा । पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीस्थित सडकबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट BR 05 BB 6759 को कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) कास्कीले जनाएको छ।

 

दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो।

 

उद्धार गरिएका भारत, बिहार प्रदेश, मोतिहरी जिल्ला रक्सोलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि जीएमसी अस्पताल पठाइएको थियो। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

 

कारमा चार जना सवार रहेको खुलेपछि तालभित्र खोजी गर्दा बिहान ५ः५५ बजे थप दुई जनालाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।

 

बिहान ६ः२० बजे कारलाई क्रेनको सहायताले तालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको थियो। अस्पतालमा चिकित्सकले बिहान ६ः२१ बजे दुवै जनालाई मृत घोषणा गरेका हुन्।

 

मृतकमध्ये भारत, बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोलका २६ वर्षीय नवदीप कुमार यादवको पहिचान आधार कार्डबाट खुलेको छ। अर्का मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको र उनको नामथर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटना बिहानै भएकाले फेवाताल आसपासका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र सवारीसाधनको गति नियन्त्रणमा राख्न आग्रह गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...