पोखरा । वीरेठाँटीबाट घान्द्रुक हुँदै उल्लेरी–घोडेपानी जाने सडक पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाको विपद् कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्।
बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले हालसम्म विभिन्न २२ सहयोगी व्यक्ति तथा संस्थाबाट रु. १३ लाख १६ हजार १ सय ४५ आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ।

सहयोग गर्नेमा ब्रेज मेश्रम घान्द्रुक समाज जापानले रु. २ लाख, नेकपा (एमाले) जिल्ला कमिटी कास्की र अन्नपूर्ण गाउँ कमिटीले संयुक्त रूपमा रु. १ लाख ६८ हजार १ सय, ब्रेज मेश्रम वराह घान्द्रुक समाज पोखराले रु. १ लाख ५३ हजार ६ सय ५०, अन्नपूर्ण–घान्द्रुक–घोडेपानी यातायात सेवा प्रालिले रु. १ लाख १ हजार र घुरुजुइ समाज अन्नपूर्ण–११ ले रु. १ लाख सहयोग गरेका छन्।

त्यस्तै टाडापानी–मुल्डे पर्यटन व्यवस्थापन समितिले रु. १ लाख, गुरुङ कटेजले रु. ५० हजार, सापेत कृपाराम काम्चे कोने (घोताने) परिवारले रु. ३० हजारलगायत विभिन्न व्यक्ति, होटल, लज तथा सामाजिक संस्थाले समेत सहयोग गरेका छन्।
सडक पुनर्निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यको अपेक्षा गरेकाे बताए।
वीरेठाँटी–घान्द्रुक–उल्लेरी–घोडेपानी सडक अन्नपूर्ण क्षेत्रको पर्यटन तथा स्थानीय आवागमनका लागि महत्वपूर्ण मार्ग भएकाले यसको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।