पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किमरुङ खोलामा पानीको सतह घटेपछि खोला थुनिएको हुनसक्ने आशंकामा प्रहरी टोली परिचालन गरिएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC), कास्कीका अनुसार २०८३ भदौ २३ गते साँझ करिब ८:०५ बजे स्थानीय लान्द्रुक हाइड्रोपावरका इन्चार्ज रविराज थलालले टेलिफोनमार्फत किमरुङ खोलाको पानीको सतह घटेको र खोला थुनिएको हुनसक्ने जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
यसैगरी, किमरुङ खोला तथा आसपासका खोलानालानजिक रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै प्रहरी चौकी घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी टोली परिचालन गरी सूचना सम्प्रेषण गर्ने कार्य भइरहेको DEOC कास्कीले जनाएको छ।
किमरुङ खोला मोदी खोलाको सहायक खोला हो। घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट करिब ८०–८५ किलोमिटर उत्तर पर्छ।
मोदी खोला आसपासका बासिन्दालाई सतर्क रहन र प्रहरी तथा स्थानीय प्रशासनको सूचनाअनुसार सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।