पोखरा । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले महानगरको आर्थिक तथा प्रशासनिक कामकारबाहीलाई पारदर्शी, जवाफदेही र विधिसम्मत बनाउन प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई विभिन्न विषयमा विशेष चासो दिन निर्देशन दिएको छ।

समितिले नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापनका लागि घाटहरूको वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) र ठेक्का प्रक्रिया कानुन तथा निर्धारित मापदण्डअनुसार अघि बढाउन आग्रह गरेको छ। नदीजन्य पदार्थको उत्खनन, संकलन र व्यवस्थापनमा पारदर्शिता कायम गर्दै महानगरको आम्दानी तथा स्रोतको उचित व्यवस्थापन गर्न समितिले जोड दिएको हो।
त्यस्तै, कर्मचारी सरुवा गर्दा सम्बन्धित कार्यविधिको पूर्ण पालना गर्न, सरुवा तथा पदस्थापनलाई विधिसम्मत, पारदर्शी र आवश्यकतामा आधारित बनाउन समितिले निर्देशन दिएको छ। महानगर क्षेत्रमा निर्माण भइरहेका तथा निर्माण हुने हाईराइज भवनका विषयमा पनि प्रचलित कानुन, भवन निर्माण मापदण्ड तथा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन भनिएको छ।
समितिले फोहोरमैला व्यवस्थापनको ठेक्का प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जोड दिँदै फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको खोजी तथा व्यवस्थापनको कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ।
महानगरका सबै महाशाखाले वार्षिक कार्ययोजना तयार गरी त्यसैअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वीकृत योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र त्यसको नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्नेमा समितिले जोड दिएको छ।
समितिले सुशासन कायम गर्ने क्रममा महानगरका खाता सञ्चालन, खर्च व्यवस्थापन तथा रातो किताबमा समावेश योजना र कार्यक्रमको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने जनाएको छ। सार्वजनिक स्रोत र बजेटको सदुपयोग हुने गरी आर्थिक अनुशासन कायम गर्न तथा सबै कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरिएको छ।
यसैगरी, महानगरको मुख्य कार्यालयभित्र हुने समूहगत राजनीति (ग्रुपिजम), व्यक्तिगत स्वार्थका लागि हुने चलखेल (मेनुप्लेटिङ), एकअर्काको आलोचना तथा पछाडिबाट कुरा काट्ने प्रवृत्ति (ब्याक बाइटिङ), अनावश्यक गफगाफ (गोसिपिङ) लगायतका गतिविधिलाई निरुत्साहित गर्न समितिले विशेष चासो देखाएको लेखा समिति संयाेजक झपट रानाभाटले जानकारी दिए ।
कार्यालयभित्र ‘गणेश प्रवृत्ति’ अर्थात् व्यक्तिपूजा तथा चाकडीका आधारमा काम हुने अवस्थाको अन्त्य गरी कर्मचारीहरूलाई जिम्मेवारी, क्षमता र विधिका आधारमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत समितिले जोड दिएको लेखा समिति संयाेजक झपट राना भाटले जानकारी दिए ।
महानगरको सेवा प्रवाहलाई प्रभावकारी, निष्पक्ष र नागरिकमैत्री बनाउन प्रशासनिक नेतृत्वले आवश्यक कदम चाल्नुपर्ने भन्दै समितिले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सुशासन, आर्थिक अनुशासन र विधिको शासन कायम गर्ने विषयमा विशेष निर्देशन दिएको हो।
बैठकमा आमन्त्रित प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वित्त महाशाखा प्रमुख जयराम पौडेल तथा प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले समितिका सदस्यहरूले उठाएका विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
सार्वजनिक लेखा समितिका संयाेजक झपट रानाभाटको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सदस्य–सचिव तथा वरिष्ठ आलेप अधिकृत रोमनाथ उपाध्यायले गरेका थिए । बैठकमा समितिका सदस्यहरू दुर्गा केसी थापा, बलराम पौडेल र विष्णुमणि पौडेलको उपस्थिति थियो।