रामप्रसाद खनाल /म एमालेसँग जोडिएको २०३६/०३७ सालदेखि हो। मेरो बाबा तिलकराम खनाल यो आन्दोलनसँग २०२८/०२९ सालदेखि नै जोडिनुभएको थियो। उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न, तर उहाँले बोकेको विचार, उहाँले जिएको राजनीतिक संस्कार र उहाँले छोडेर गएको संघर्षको बाटो आज पनि हाम्रो जीवनसँग जोडिएको छ।

हाम्रो घर तत्कालीन मालेको सेल्टर थियो। हाम्रो परिवारका सबै सदस्य हालसम्म यो आन्दोलन मै जोडिएका छौँ । बाबाले र मैले यो आन्दोलनमा लाग्दा कुटाइ पिटाइ तथा हिरासत समेत भोग्यौँ । हाम्रो परिवारलाई नेतृत्व र नेताहरूले व्यक्तिगत रूपमा नचिन्न पनि सक्नुहुन्छ। हामीले कहिल्यै पनि नेतृत्व तथा नेतासंग व्यक्तिगत सम्पर्क र सामीप्य बढाएर राजनीतिक सम्बन्ध बनाउने प्रयास पनि गरेनौँ।
त्यो समय राजनीति पद, प्रतिष्ठा र सुविधाको बाटो थिएन। भूमिगत नेता–कार्यकर्ता घरमा आउँथे, बस्थे, छलफल गर्थे र फेरि आफ्नो बाटो लाग्थे। त्यसो गर्दा जोखिम थियो, डर थियो, राज्यको निगरानी थियो। तर त्यसको बदलामा केही पाइन्छ भन्ने हिसाब थिएन। त्यतिबेला राजनीति भनेको समाज बदल्ने संकल्प थियो, शोषण र अन्यायका विरुद्ध उभिने साहस थियो र श्रम गर्ने मानिसलाई आफ्नो श्रमको सम्मान र अधिकार दिलाउने सपना थियो।
हामीले राजनीति त्यही संस्कारबाट सिक्यौँ। पार्टीमा लागेपछि पार्टीबाट के पाइन्छ भन्ने हिसाब गरेनौँ, आफूले पार्टी र आन्दोलनलाई के दिन सक्छौँ भन्ने सोच्यौँ। हामी निम्न मध्यम वर्गीय परिवारका मानिस हौँ। जीवनमा आफ्नै संघर्ष थिए, आर्थिक सीमाहरू थिए, परिवारका आवश्यकता थिए। तर राजनीतिलाई व्यक्तिगत सुविधा र भविष्य सुरक्षित गर्ने माध्यम बनाउने सोच आएन। समय आयो, अवसर पनि आए होलान्, तर हामीले पार्टीसँगको सम्बन्धलाई लेनदेनको सम्बन्ध बनाएनौँ। पार्टीलाई आफ्नो स्वार्थ पूरा गर्ने भर्याङ बनाएनौँ। बरु पार्टी र आन्दोलनलाई आवश्यकता पर्दा आफूलाई उपलब्ध गराउने संस्कारमा हुर्कियौँ।
हाम्रो परिवारमा बाबालाई क्यान्सरजस्तो घातक रोग लाग्दा पनि त्यो राजनीतिक संस्कारको एउटा कठिन परीक्षा भयो। उपचारका लागि आर्थिक कठिनाइ थियो। पार्टीसँग दशकौँको सम्बन्ध थियो, पार्टी पंक्तिसँग सम्बन्ध थियो, सहयोग माग्न सकिने अवस्था पनि थियो होला। तर हामीले उपचारका लागि पार्टी पंक्तिसँग आर्थिक सहयोग मागेनौँ। यो कुरा आफूलाई ठूलो देखाउनका लागि होइन, हाम्रो राजनीतिक सम्बन्ध कस्तो थियो भन्ने सम्झनाका लागि मात्र हो। हामीले पार्टीलाई दुःख पर्दा सम्झिने र सुखमा बिर्सिने संस्था मानेनौँ, न त आफू पार्टीको सदस्य भएकै कारण विशेष सुविधा पाउनुपर्ने मानिस ठान्यौँ। पार्टीसँगको सम्बन्ध हाम्रो लागि आर्थिक लेनदेन होइन, राजनीतिक विश्वासको सम्बन्ध थियो।
हामीले पार्टी र पार्टी नेतृत्वविरुद्ध विरोधीसँग कहिल्यै हात मिलाएनौँ। पार्टीभित्र असहमति भएका बेला पनि विरोधीको लाइनमा गएर उभिएनौँ। कहिल्यै अन्तरघात गरेनौँ। चुनावमा आफ्नै पार्टीलाई हराउन भित्रभित्रै अर्को शक्तिसँग मिलेनौँ। हाम्रो हात काटिएला, सूर्य चिन्हभन्दा अन्यत्र जाने सोच आएन। पार्टी विभाजनको पक्षमा पनि कहिल्यै लागेनौँ।
यसको अर्थ पार्टीभित्र भएका सबै निर्णय सही थिए, नेतृत्वले कहिल्यै गल्ती गरेन वा हामीले कहिल्यै आलोचना गरेनौँ भन्ने होइन। असहमति थिए, गुनासा थिए, कमजोरी देखिन्थे र नेतृत्वका निर्णयसँग चित्त नबुझेका क्षण पनि थिए। तर हामीले एउटा कुरा बुझ्यौँ-असहमति र अन्तरघात एउटै कुरा होइन। आलोचना र वर्गीय शत्रुको राजनीतिक स्वार्थलाई सेवा गर्नु एउटै कुरा होइन। पार्टीभित्र संघर्ष गर्नु र पार्टीलाई कमजोर पार्न बाहिरी शक्तिको सहारा लिनु पनि एउटै कुरा होइन।
यही ठाउँबाट मेरो मनमा एउटा प्रश्न उठ्छ-हामीले केही लिएनौँ, बरु गुमायौँ होला। तर आन्दोलनबाट सबैभन्दा धेरै अवसर पाएका मानिसहरू नै किन सबैभन्दा बढी असन्तुष्ट देखिन्छन् ? किन कसैलाई एउटा पद पाएपछि अर्को पद चाहिन्छ ? एउटा जिम्मेवारी पाएपछि अझ ठूलो जिम्मेवारी चाहिन्छ ? टिकट पाएपछि अर्को टिकट चाहिन्छ ? नेतृत्वमा पुगेपछि अझ माथि पुग्नुपर्ने हुन्छ ? आफ्नो मान्छे परेन भने पार्टी खराब देखिन्छ, आफ्नो गुट अगाडि बढेन भने संगठनमा विधि छैन भन्ने लाग्छ, आफूले अवसर पाएसम्म सबै ठीक हुन्छ र अवसर रोकिएपछि मात्र पार्टीमा समस्या देखिन्छ-यस्तो राजनीतिक चेतना कहाँबाट पैदा हुन्छ ?
यसको उत्तर केवल व्यक्तिको स्वभावमा खोजेर पुग्दैन। यसलाई वर्गीय दृष्टिले हेर्नुपर्छ।
माक्र्सवादले मानिसको चेतनालाई उसको भौतिक जीवनबाट अलग गरेर हेर्दैन। मानिस समाजभन्दा बाहिर बस्दैन। ऊ उत्पादन सम्बन्ध, सम्पत्तिको सम्बन्ध, श्रम र पूँजीको सम्बन्ध, अवसर र पहुँचको असमानता तथा सामाजिक प्रतिस्पर्धाको बीचमा बाँचिरहेको हुन्छ। समाजमा जुन प्रकारको व्यक्तिवाद, निजी स्वार्थ, संचयको लालसा र प्रतिस्पर्धाको संस्कार हुन्छ, त्यसको प्रभाव राजनीतिक संगठनभित्र पनि प्रवेश गर्छ। पार्टीमा प्रवेश गरेपछि मानिस समाजबाट अलग भएर शुद्ध राजनीतिक प्राणी बन्दैन। उसले आफ्नो सामाजिक अनुभव, वर्गीय संस्कार र व्यक्तिगत आकांक्षा पनि सँगै लिएर आउँछ।
त्यसैले पार्टीभित्र देखिने अवसरवादलाई केवल ‘फलानो मानिस खराब भयो’ भनेर बुझ्नु अधुरो हुन्छ। प्रश्न अझ गहिरो छ-कुन सामाजिक र राजनीतिक परिस्थितिले त्यस्तो चेतना निर्माण गर्यो ?
हिजो आन्दोलनको केन्द्रमा त्याग, जोखिम र वर्गीय मुक्ति थियो। आज राजनीति सत्ता, निर्वाचन, राज्यसत्ता र संस्थागत अवसरसँग जोडिएको छ। यो परिवर्तनलाई पनि बुझ्नुपर्छ। जब आन्दोलन भूमिगत र संघर्षशील अवस्थामा हुन्छ, व्यक्तिगत लाभको सम्भावना सीमित हुन्छ। त्यतिबेला आन्दोलनमा टिकिरहन विचार र प्रतिबद्धता नै मुख्य शक्ति हुन्छ। तर आन्दोलन राज्यसत्तासँग जोडिँदै जाँदा राजनीतिक अवसरका ढोका खुल्छन्। पद आउँछन्, स्रोत र पहुँच आउँछन्, प्रतिष्ठा आउँछ। त्यसपछि एउटा नयाँ खतरा पैदा हुन्छ-आन्दोलनको कार्यकर्ता विस्तारै सत्ताको उपभोक्ता बन्न सक्छ।
यहीँ वर्गीय चेतनाको परीक्षा हुन्छ। राजनीतिक सत्ता समाज बदल्ने साधनका रूपमा प्रयोग भयो भने त्यसले जनताको जीवनमा परिवर्तन ल्याउने आधार बनाउन सक्छ। तर सत्ता आफैँ व्यक्तिगत उन्नतिको साधन बन्न थाल्यो भने राजनीतिक वृत्तभित्र विशेषाधिकारको भावना विकास हुन सक्छ। हिजो समानताको कुरा गर्ने मानिस आज आफ्नो पदको विशेषाधिकार जोगाउन थाल्न सक्छ। हिजो शोषणको विरोध गर्ने मानिस आज आफ्नो पहुँच गुम्ने डरले निर्णय गर्न सक्छ। हिजो वर्गीय हितको कुरा गर्ने मानिस आज आफ्नै समूहको हितलाई वर्गीय हितजस्तो प्रस्तुत गर्न सक्छ।
यहीँबाट राजनीतिक अवसरवाद र वर्गीय विचलनको सुरुवात हुन्छ। अवसरवादको अझ गम्भीर रूप त्यो हो, जहाँ व्यक्तिको निजी स्वार्थलाई विचारको आवरण दिइन्छ। आफूलाई पद नदिँदा ‘पार्टीमा जनवाद छैन’ भनिन्छ, आफ्नो समूहलाई जिम्मेवारी नदिँदा ‘विधि मिचियो’ भनिन्छ, आफू बाहिर पर्दा ‘नेतृत्व निरंकुश भयो’ भनिन्छ। तर आफूले अवसर पाउँदा त्यही विधि, त्यही नेतृत्व र त्यही संरचना ठीक देखिन्छ। यस्तो अवस्थामा प्रश्न विचारको हुँदैन, आफ्नो हिस्साको हुन्छ।
वर्गीय राजनीति र हिस्साको राजनीति यहीँ छुट्टिन्छ। वर्गीय राजनीति सोध्छ-यो निर्णयले श्रमजीवी जनतालाई के असर गर्छ ? किसान, मजदुर, निम्न आय भएका परिवार, बेरोजगार युवा र उत्पादनमा प्रत्यक्ष जोडिएका मानिसको जीवनमा यसको प्रभाव के पर्छ ? समाजमा शक्ति र स्रोतको वितरण कस्तो हुन्छ ? पार्टीले आफ्नो राजनीतिक शक्ति कसको हितमा प्रयोग गरिरहेको छ ?
हिस्साको राजनीति भने सोध्छ-मेरो पद कहाँ छ ? मेरो टिकट कहाँ छ ? मेरो मान्छे कहाँ छ ? मेरो समूहले कति पायो ? म किन पछाडि परेँ ? दुवैमा ‘राजनीति’ शब्द एउटै हुन्छ, तर वर्गीय चरित्र फरक हुन्छ।
त्यसैले पार्टीभित्रको असन्तुष्टिको पनि वर्गीय विश्लेषण गर्न आवश्यक छ। सबै असन्तुष्टि गलत हुँदैनन्। भुइँतहको कार्यकर्ताले महँगी, बेरोजगारी, भ्रष्टाचार, असमानता, अवसरको अन्यायपूर्ण वितरण वा संगठनभित्रको गुटबन्दीबारे प्रश्न गर्छ भने त्यो प्रश्नलाई दबाउनु हुँदैन। नेतृत्वका कमजोरीबारे आलोचना हुन्छ भने आलोचनाको अधिकार सुरक्षित हुनुपर्छ। तर आफ्नो व्यक्तिगत पद नपाएको असन्तुष्टिलाई जनताको असन्तुष्टिसँग मिसाउनु पनि हुँदैन। जनताको वर्गीय पीडा र नेताको व्यक्तिगत पदको पीडा एउटै कुरा होइन।
हामीले यही भिन्नता बुझ्न सकेनौँ भने माक्र्सवादी भाषाले गैरमाक्र्सवादी स्वार्थ ढाक्ने काम गर्न सक्छ।
पार्टीभित्र गलत कुरा भए संघर्ष गर्नुपर्छ, नेतृत्व गलत भए आलोचना गर्नुपर्छ, संगठनमा विकृति भए सच्याउनुपर्छ। तर आफ्नो व्यक्तिगत राजनीतिक अस्तित्व जोगाउन आन्दोलनलाई कमजोर बनाउने वा टुक्र्याउने बाटो रोज्नु हुँदैन। पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन, न त कुनै व्यक्तिको रिस वा महत्वाकांक्षाका कारण टुक्र्याउन मिल्ने संस्था हो। विभाजनको राजनीतिक असर नेताहरूको हैसियतमा मात्र पर्दैन, त्यसको ठूलो असर भुइँतहका कार्यकर्ता र जनताबीचको सम्बन्धमा पर्छ।
त्यसैले हामीले पार्टीभित्र असामान्य स्थिति हुदा पनि विभाजनको पक्षमा लागेनौँ । विरोधीसँग हात मिलाएनौँ। अन्तरघात गरेनौँ। सूर्य चिन्ह छोडेनौँ। यो कसैप्रतिको अन्धभक्ति होइन। यो एउटा राजनीतिक रेखाप्रतिको प्रतिबद्धता थियो। व्यक्ति गलत हुन सक्छ, नेतृत्वले गल्ती गर्न सक्छ, निर्णय गलत हुन सक्छ। तर आफ्नो असहमतिको समाधान विरोधी शक्तिको काँधमा बन्दुक राखेर खोज्नु हाम्रो राजनीतिक संस्कार बनेन।
माक्र्सवादी संगठनमा जनवाद आवश्यक छ, तर जनवादको अर्थ आफ्नो स्वार्थ पूरा नभएसम्म पार्टीविरुद्ध बाहिरी शक्ति खोज्नु होइन। अनुशासन आवश्यक छ, तर अनुशासनको अर्थ नेतृत्वलाई प्रश्न गर्न नपाउनु पनि होइन। सही राजनीतिक सम्बन्ध भनेको विचारमा बहस, संगठनमा जनवाद, निर्णयमा अनुशासन र व्यवहारमा वर्गीय पक्षधरता हो।
हामी निम्न मध्यम वर्गीय परिवारबाट आएका मानिस हौँ। यसलाई पनि इमानदारीपूर्वक स्वीकार गर्नुपर्छ। आफूलाई मजदुर वर्गको प्रतिनिधि भनेर घोषणा गर्दैमा वर्गीय चरित्र निर्माण हुँदैन। मानिसको वर्गीय चेतना उसको जीवन, श्रम, सम्बन्ध र राजनीतिक व्यवहारबाट पनि देखिन्छ। निम्न मध्यम वर्गभित्र पनि एउटा अन्तर्विरोध हुन्छ-एकातिर श्रमजीवी जनताको पक्षमा उभिने चेतना र अर्कोतिर आफू पनि माथि उठेर सुविधा र विशेषाधिकार प्राप्त गर्ने आकांक्षा। त्यसैले मध्यम वर्गीय पृष्ठभूमिबाट आएका राजनीतिक कार्यकर्ताका लागि वर्गीय चेतना निर्माण आफैँमा निरन्तर संघर्ष हो।
हामीले आफ्नै जीवनमा पनि त्यो संघर्ष भोगेका छौँ। व्यक्तिगत आवश्यकता थिए, परिवारका जिम्मेवारी थिए, आर्थिक कठिनाइ थिए। बाबालाई क्यान्सर लाग्दा उपचारको समस्या थियो। तर पार्टीसँगको सम्बन्धलाई व्यक्तिगत आर्थिक लाभको माध्यम बनाउने विचार आएन। यसको अर्थ पार्टीले आफ्ना कार्यकर्ताको दुःखमा साथ दिनु पर्दैन भन्ने होइन। राजनीतिक संगठन आफ्ना कार्यकर्ताको सामाजिक र मानवीय अवस्थाप्रति जिम्मेवार हुनुपर्छ। तर हामीले आफ्नो राजनीतिक निष्ठालाई आर्थिक लेनदेनको आधार बनाएनौँ। हामीले पार्टीमा लगानी गरेर प्रतिफल लिन राजनीति गरेका थिएनौँ।
यही कारणले ‘मैले पार्टीका लागि यति गरेँ, अब पार्टीले मलाई यति दिनुपर्छ’ भन्ने मानसिकतामाथि प्रश्न उठ्छ। त्यागलाई लगानी मानियो भने प्रतिफल खोजिन्छ। प्रतिफल नपाउँदा निराशा हुन्छ। निराशा बढेपछि असन्तुष्टि हुन्छ। असन्तुष्टिले विचारलाई ढाक्छ। विचार कमजोर भएपछि व्यक्ति केन्द्रमा आउँछ। व्यक्ति केन्द्रमा आएपछि गुट बन्छ। गुट बनेपछि अवसरको संघर्ष हुन्छ। अवसरको संघर्ष बढ्दै जाँदा संगठनात्मक एकता र राजनीतिक उद्देश्य कमजोर हुन सक्छ।
यसको प्रतिरोध केवल नैतिक उपदेशले हुँदैन। वर्गीय राजनीतिक शिक्षाले गर्नुपर्छ। कार्यकर्तालाई फेरि प्रश्न गर्न सिकाउनुपर्छ-हामी कसका लागि राजनीति गर्दैछौँ ? पार्टी किन चाहिएको हो ? सत्ता किन चाहिएको हो ? संगठन किन बनाउने ? नेतृत्व किन आवश्यक छ ? जनताको जीवनसँग पार्टीको सम्बन्ध के हो ?
यी प्रश्न हराए भने पार्टी विस्तारै निर्वाचनमा केन्द्रित संरचनामा सीमित हुन सक्छ। संगठन रहन्छ, कमिटी रहन्छ, झण्डा रहन्छ, चुनाव हुन्छ, सत्ता आउँछ, तर आन्दोलनको वर्गीय आत्मा कमजोर हुन सक्छ। माक्र्सवादी पार्टीको गम्भीर चुनौती त्यतिबेला पैदा हुन्छ, जब उसले चुनावी राजनीति त गर्छ तर समाजका वर्गीय अन्तर्विरोध र जनताको दैनिक जीवनसँगको आफ्नो सम्बन्ध कमजोर बनाउँदै जान्छ।
त्यसैले आजको प्रश्न केवल ‘को सही, को गलत’ भन्ने होइन। अझ गहिरो प्रश्न हो-हाम्रो राजनीतिक चेतना कुन वर्गको हिततर्फ गइरहेको छ ?
यो प्रश्न नेतृत्वले पनि आफूलाई सोध्नुपर्छ, कार्यकर्ताले पनि। निर्णय गर्दा आफ्नो गुटभन्दा बाहिर हेर्नुपर्छ। जिम्मेवारी बाँड्दा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक योगदान र जनसम्बन्धलाई महत्व दिनुपर्छ। नेतृत्व चयन गर्दा चाकरीभन्दा राजनीतिक क्षमता, संगठनात्मक भूमिका र वर्गीय प्रतिबद्धतालाई आधार बनाउनुपर्छ। कार्यकर्ताको मूल्यांकन गर्दा उसको पहुँच होइन, उसको राजनीतिक इमान, संगठनात्मक योगदान र जनतासँगको सम्बन्ध हेर्नुपर्छ।
भुइँतहको कार्यकर्ता र सत्ताको वरिपरि रहने राजनीतिक व्यक्तिको अनुभव एउटै हुँदैन। एउटा कार्यकर्ता जनताको घरमा जान्छ, बेरोजगार युवाको समस्या सुन्छ, किसानको पीडा सुन्छ, सामान्य मानिसको गुनासो सुन्छ र चुनाव सकिएपछि पनि त्यही समाजमा फर्किन्छ। राज्यसत्ताको केन्द्र र राजनीतिक पहुँचको वरिपरि रहने व्यक्तिको अनुभव फरक हुन सक्छ। एउटै पार्टीभित्र पनि राजनीतिक अनुभवको सामाजिक आधार फरक हुन सक्छ। पार्टीले यी फरक अनुभवलाई बुझ्नुपर्छ।
भुइँतहको कार्यकर्ताले पद नपाए पनि पार्टी छोड्दैन भने त्यसलाई कमजोरी ठान्नु हुँदैन। त्यो निष्ठा पनि हुन सक्छ। तर उसको निष्ठाको नाममा उसको आवाज दबाउनु पनि हुँदैन। उसले प्रश्न गर्छ भने उसको प्रश्न सुन्नुपर्छ, उसको पीडाको सामाजिक आधार बुझ्नुपर्छ र संगठनभित्र उसको सम्मान सुरक्षित गर्नुपर्छ। पार्टीको जरा भुइँमा हुन्छ, माथि होइन।
हामीले आफ्नै जीवनबाट एउटा कुरा सिकेका छौँ-सुविधा नहुँदा पनि विचार बचाउन सकिन्छ, तर विचार नहुँदा सुविधा पाएर पनि राजनीतिक जीवनको अर्थ बचाउन गाह्रो हुन्छ। हामीले पार्टीबाट व्यक्तिगत रूपमा धेरै पाएनौँ, तर पार्टीप्रतिको विश्वास गुमाएनौँ। बाबाको उपचारका कठिन दिनमा पनि सम्बन्धलाई लेनदेन बनाएनौँ। पार्टी विभाजनका प्रसंगमा आफ्नो राजनीतिक घर छोडेनौँ। विरोधीको हात समातेर आफ्नो हिस्सा खोजेनौँ। अन्तरघातलाई राजनीतिक अधिकारको नाम दिएनौँ।
यी कुरा कुनै प्रमाणपत्र होइनन्। यी हामी कुन राजनीतिक संस्कारबाट आएका हौँ भन्ने सम्झना मात्र हुन्।
आज पार्टीलाई त्यही संस्कारसँग नयाँ समयको वर्गीय चेतना जोड्न आवश्यक छ। पार्टीलाई व्यक्तिको होइन, विचारको बनाउने हो। संगठनलाई गुटको होइन, राजनीतिक उद्देश्यको साधन बनाउने हो। सत्ता व्यक्तिगत उन्नतिको माध्यम होइन, सामाजिक रूपान्तरणको साधन हो भन्ने कुरा व्यवहारबाट देखाउने हो। कार्यकर्ताको निष्ठालाई चाकरीमा बदल्न दिनु हुँदैन। नेतृत्वको आलोचनालाई शत्रुता ठान्नु हुँदैन। असन्तुष्टिलाई व्यक्तिगत हिस्साबाट उठाएर वर्गीय प्रश्नमा पुर्याउनुपर्छ।
हिजो भूमिगत हुँदा पार्टी जोगाउन घरको ढोका खोल्नुपर्थ्यो। आज पार्टी जोगाउन आफ्नो स्वार्थको ढोका बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। हिजो राज्यको दमनसँग लड्न साहस चाहिन्थ्यो। आज आफ्नै गुट, स्वार्थ र महत्वाकांक्षासँग लड्न त्यत्तिकै साहस चाहिन्छ। हिजो बाहिरी शत्रु पहिचान गर्न सजिलो थियो। आज राजनीतिक विचलन भित्रैबाट पनि आउन सक्छ। त्यसैले आजको संघर्ष केवल सडकमा होइन, राजनीतिक चेतनाभित्र पनि चलिरहेको छ।
यस अर्थमा हामीले गुमाएका कुरालाई केवल व्यक्तिगत पीडा भनेर हेर्नु हुँदैन। अवसर गुमाउनु, पद गुमाउनु, सुविधा नपाउनु र व्यक्तिगत लाभ नहुनु जीवनका वास्तविक कठिनाइ हुन्। तर त्यही कारणले विचार बेचिन्छ भने समस्या व्यक्तिगत रहँदैन, राजनीतिक हुन्छ। आफ्नो हिस्साका लागि पार्टीको राजनीतिक उद्देश्य कमजोर पार्नु, आफ्नो पदका लागि संगठनको एकता भत्काउनु, आफ्नो गुटका लागि विधि र सिद्धान्तलाई मोड्नु वा आफ्नो असन्तुष्टिका लागि विरोधीको सहारा खोज्नु गम्भीर राजनीतिक विचलन हो।
हामी कसैलाई व्यक्तिगत रूपमा दोष लगाउन यो कुरा गरिरहेका छैनौँ। एउटा प्रवृत्तिको विश्लेषण गरिरहेका छौँ। व्यक्ति आउँछन् र जान्छन्, प्रवृत्ति रहन्छ। आज एउटा व्यक्ति अवसरवादतर्फ जान सक्छ, भोलि अर्को व्यक्ति पनि त्यही बाटोमा पुग्न सक्छ। त्यसैले व्यक्तिको नामभन्दा प्रवृत्तिको विश्लेषण महत्वपूर्ण हुन्छ। व्यक्तिलाई गाली गरेर अवसरवाद समाप्त हुँदैन। अवसरवाद जन्माउने राजनीतिक र संगठनात्मक संस्कार बदल्नुपर्छ।
फेरि त्यही प्रश्नमा फर्किन्छु-पाउनेहरू किन असन्तुष्ट छन् ? सायद यसको एउटा उत्तर यही हो-जसले राजनीतिलाई वर्गीय मुक्ति र सामाजिक रूपान्तरणको माध्यम ठान्यो, उसले आफ्नो व्यक्तिगत प्राप्तिलाई राजनीतिक जीवनको अन्तिम मापदण्ड बनाएन। जसले राजनीतिलाई व्यक्तिगत उन्नतिको माध्यम बनाउन थाल्यो, उसका लागि प्राप्ति कहिल्यै पर्याप्त हुँदैन। एउटा पद अर्को पदको खुड्किलो हुन्छ, एउटा अवसर अर्को अवसरको माग बन्छ र एउटा सफलता अर्को असन्तुष्टिको कारण बन्न सक्छ।
तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। नपाउनु आफैँमा महानता होइन र पाउनु आफैँमा अपराध होइन। प्रश्न प्राप्ति वा अप्राप्तिको होइन, प्राप्तिपछि राजनीतिक चेतनाको दिशा के भयो भन्ने हो। पद पाउने मानिस पनि जनताको पक्षमा दृढ हुन सक्छ र पद नपाउने मानिस पनि निजी स्वार्थमा डुब्न सक्छ। त्यसैले वर्गीय विश्लेषणको मापदण्ड व्यक्तिले के पायो भन्ने होइन, उसले आफ्नो सामाजिक र राजनीतिक शक्ति कसको हितमा प्रयोग गर्यो भन्ने हो।
यहीँबाट हाम्रो आत्मसमीक्षा अझ कठोर हुनुपर्छ। हामीले पनि आफूलाई प्रश्न गर्नुपर्छ-नपाएको कारणले मात्र आफूलाई निष्ठावान् ठानिरहेका त छैनौँ ? अरूले पाएको अवसर देखेर मनमा कुण्ठा त छैन ? हामीले त्याग गरेका छौँ भन्दैमा अरूमाथि नैतिक श्रेष्ठता खोजिरहेका त छैनौँ ? वर्गीय चेतना भनेको अरूको कमजोरी देख्ने आँखा मात्र होइन, आफ्नै स्वार्थ र कमजोरी देख्ने ऐना पनि हो। माक्र्सवादी आत्मसमीक्षा त्यहीँबाट सुरु हुन्छ।
हामीले बाबाबाट पाएको सबैभन्दा ठूलो विरासत कुनै सम्पत्ति होइन, राजनीतिक संस्कार हो। त्यो संस्कारले हामीलाई सिकायो-पार्टीसँगको सम्बन्ध लेनदेन होइन, विचारसँगको सम्बन्ध हो। राजनीति व्यक्तिगत उन्नति होइन, सामाजिक रूपान्तरणको संघर्ष हो। निष्ठा अन्धसमर्थन होइन, सही राजनीतिक उद्देश्यप्रतिको दृढता हो। संघर्ष आफ्नो पालो खोज्नु होइन, समाज बदल्ने उद्देश्यमा निरन्तर उभिइरहनु हो।
त्यसैले कहिलेकाहीँ दिक्क लागे पनि यात्रा रोकिँदैन। आफ्नै मानिसको व्यवहारले मन दुखाए पनि विचार छोडिँदैन। पार्टीभित्र समस्या देखिए पनि विरोधीको हात समातिँदैन। नेतृत्वसँग असहमति भए पनि अन्तरघात गरिँदैन। संगठनमा विकृति देखिए पनि विभाजनलाई समाधान मानिँदैन। बरु संघर्ष गरिन्छ, प्रश्न गरिन्छ, आलोचना गरिन्छ, आत्मालोचना गरिन्छ र पार्टीलाई फेरि जनताको जीवन, श्रमजीवी वर्ग र सामाजिक न्यायको धरातलमा उभ्याउने प्रयास गरिन्छ।
हामीले पार्टीबाट के पायौँ भन्ने हिसाबभन्दा पार्टी र आन्दोलनका लागि हामीले के दियौँ भन्ने हिसाब ठूलो हो। तर त्यसलाई पनि अन्तिम मापदण्ड बनाउनु पर्याप्त छैन। अझ ठूलो प्रश्न छ-हाम्रो राजनीति कसको पक्षमा उभियो ?
यदि राजनीति श्रम गर्ने मानिसको पक्षमा छ, शोषण र असमानताका विरुद्ध छ, सामाजिक न्यायको पक्षमा छ, उत्पादन गर्ने वर्गको सम्मान र अधिकारको पक्षमा छ, जनताको जीवन सुधार्ने उद्देश्यमा छ भने त्यसले आफ्नो वर्गीय अर्थ जोगाउँछ।
यही कारणले पार्टीको वास्तविक शक्ति पदमा होइन, जनतामा हुन्छ। संगठनको शक्ति भवनमा होइन, कार्यकर्ताको चेतनामा हुन्छ। नेतृत्वको शक्ति केवल पदमा होइन, राजनीतिक विश्वासमा हुन्छ। माक्र्सवादी राजनीतिको शक्ति नारामा होइन, वर्गीय पक्षधरतालाई व्यवहारमा उतार्ने क्षमतामा हुन्छ।
अब हामीले एउटा कुरा स्पष्टसँग बुझ्नुपर्छ-राजनीतिमा आफ्नो हिस्सा खोज्ने चेतनाभन्दा आफ्नो वर्गको हिस्सा खोज्ने चेतना माथि हुनुपर्छ। मेरो पदभन्दा श्रमजीवीको अधिकार ठूलो हुनुपर्छ। मेरो टिकटभन्दा जनताको भविष्य ठूलो हुनुपर्छ। मेरो गुटभन्दा पार्टीको राजनीतिक उद्देश्य ठूलो हुनुपर्छ। मेरो व्यक्तिगत अवसरभन्दा अवसरविहीन जनताको जीवन ठूलो हुनुपर्छ। यही नै वर्गीय राजनीतिको कठोर परीक्षा हो।
राजनीतिमा सबैभन्दा ठूलो विचलन पद पाउनु होइन, पद पाएपछि आफ्नो वर्गीय धरातल बिर्सनु हो। अवसर पाउनु होइन, अवसर पाउनेबित्तिकै अवसरविहीनको पीडा नदेख्नु हो। नेतृत्वमा पुग्नु होइन, नेतृत्वलाई जनताभन्दा माथि ठान्नु हो। र असन्तुष्ट हुनु पनि अपराध होइन, तर आफ्नो व्यक्तिगत असन्तुष्टिलाई जनताको वर्गीय असन्तुष्टिको आवरण दिनु राजनीतिक बेइमानी बन्न सक्छ।
त्यसैले अब प्रश्न ‘कसले कति पायो ?’ भन्दा ठूलो हुनुपर्छ। प्रश्न हुनुपर्छ-कसले पाएको शक्ति कसका लागि प्रयोग गर्यो ? कसले पाएको अवसर कसको जीवन बदल्न प्रयोग गर्यो ? कसले पदमा बसेर भुइँतहको आवाज बोकेर हिँड्यो ? र कसले पद नपाउँदा पनि आफ्नो वर्गीय पक्षधरता जोगाएर राख्यो ? हामीले आफूलाई यही कठोर प्रश्नमा उभ्याउनुपर्छ-राजनीतिमा हामीले आफ्नो जीवनको हिसाब मिलाउन खोजेका हौँ कि समाजको हिसाब बदल्न ?
हामी नपाए पनि आन्दोलनलाई माया गरेका छौँ। तर अब हाम्रो दाबी केवल ‘हामीले केही पाएनौँ’ भन्ने हुनु हुँदैन। हाम्रो दाबी त्यसभन्दा गहिरो हुनुपर्छ—हामीले नपाउँदा पनि विचार छोडेनौँ, अवसर नपाउँदा पनि वर्गीय पक्षधरता छोडेनौँ, असहमति हुँदा पनि अन्तरघात गरेनौँ र व्यक्तिगत स्वार्थभन्दा आन्दोलनलाई माथि राख्ने प्रयास गर्यौँ।
राजनीतिक निष्ठाको मूल्य पदले निर्धारण गर्दैन। वर्गीय चरित्रको मूल्य सुविधा र पहुँचले निर्धारण गर्दैन। मानिसले आफूलाई कम्युनिष्ट भनेको भरमा उसको वर्गीय चरित्र प्रमाणित हुँदैन। उसले आफ्नो निजी स्वार्थ र जनताको वर्गीय हितबीच द्वन्द्व पर्दा कुन पक्ष रोज्छ, त्यहीँबाट उसको राजनीतिक चरित्रको वास्तविक परीक्षा हुन्छ।
हामीले गुमाएका कुराको हिसाब गरेर निराश नहोऔँ। बरु आफूलाई सोधौँ-गुमाउँदा पनि के बचायौँ ? यदि विचार बच्यो, राजनीतिक इमान बच्यो, वर्गीय पक्षधरता बच्यो, जनताप्रतिको विश्वास बच्यो र संघर्ष गर्ने साहस बच्यो भने हाम्रो यात्रा सकिएको छैन।
पद आउँछन् र जान्छन्। अवसर आउँछन् र हराउँछन्। सत्ता बदलिन्छ। व्यक्तिहरू बदलिन्छन्। तर वर्गीय निष्ठा बाँचेको छ भने आन्दोलन बाँच्छ। विचार बाँचेको छ भने बाटो बाँच्छ। भुइँमान्छेसँगको सम्बन्ध बाँचेको छ भने राजनीतिका लागि अझै भविष्य बाँकी छ।
त्यसैले अब हाम्रो राजनीति यस्तो होस्-आफ्नो हिस्सा होइन, आफ्नो वर्गको हिस्सा खोज्ने राजनीति। व्यक्तिगत लाभ होइन, सामाजिक रूपान्तरण खोज्ने राजनीति। पदको प्रतिष्ठा होइन, श्रमको प्रतिष्ठा खोज्ने राजनीति। गुटको विजय होइन, जनताको विजय खोज्ने राजनीति।
हामीले पार्टीबाट के पायौँ भन्ने प्रश्न सानो हो। हामीले जनताको पक्षमा के जोगायौँ, के बदल्यौँ र केका लागि उभियौँ भन्ने प्रश्न ठूलो हो र अन्तिम वर्गीय निष्कर्ष यही हो-जो राजनीति आफ्नो निजी हिस्साको विस्तारमा सीमित हुन्छ, त्यो विस्तारै अवसरको राजनीतिमा बदलिन्छ। जो राजनीति श्रमजीवी वर्गको हिस्साका लागि लड्छ, त्यही राजनीति सामाजिक रूपान्तरणको बाटो बन्छ। त्यसैले हाम्रो रोजाइ पद र विचारबीच होइन, निजी स्वार्थ र वर्गीय पक्षधरता बीचको हो। आफ्नो लागि पाउनेभन्दा जनताका लागि गुमाउन सक्ने चेतना नै राजनीतिक निष्ठाको उच्चतम परीक्षा हो।
