माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको दशक यात्रा पूरा, सामाजिक र खेलकुद गतिविधि विस्तारमा जोड

पोखरा । माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा क्लबको सामाजिक तथा खेलकुद क्षेत्रको योगदानको चर्चा गर्दै आगामी दिनमा गतिविधि थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

क्लबका अध्यक्ष पवन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–४ का जनप्रतिनिधि तथा पूर्वखेलाडी अर्जुन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले क्लबले स्थानीयस्तरमा खेलकुद तथा सामाजिक गतिविधिमार्फत पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। युवालाई दुर्व्यसन तथा नकारात्मक गतिविधिबाट जोगाउँदै सकारात्मक र सिर्जनात्मक काममा सहभागी गराउन खेलकुद महत्त्वपूर्ण माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।

 

कार्यक्रमका विशेष अतिथि तथा क्लबका सल्लाहकार पानबहादुर जिसीले पछिल्लो समय समाजमा बढ्दै गएका आपराधिक गतिविधिप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो। उहाँले क्लबले खेलकुद र सामाजिक गतिविधिलाई निरन्तरता दिनुका साथै साइबर अपराधजस्तो गम्भीर समस्याविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

 

वार्षिकोत्सवको अवसरमा विदेशमा रहेर पनि क्लबलाई निरन्तर आर्थिक तथा नैतिक सहयोग पुर्‍याउँदै आउनुभएका सल्लाहकारद्वय राजेन्द्र गौतम र राजेश घलेलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। क्लबले उहाँहरूको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो।

 

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरज शाहीसहित स्थानीय समाजसेवी, अगुवा तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा प्रमुख अतिथि अर्जुन अधिकारी, सम्मानित व्यक्तित्व राजेन्द्र गौतम, राजु नेपाली, राजेश घले र सनम नेपालीलगायतले क्लबको निरन्तर प्रगति र सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

क्लबका सचिव सुशील श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, आगामी दिनमा सामाजिक उत्तरदायित्व, खेलकुद प्रवर्द्धन तथा युवाको क्षमता विकाससँग सम्बन्धित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

 

दश वर्षको यात्रा पूरा गरेको क्लबले आगामी दिनमा सामाजिक एकता, युवा सहभागिता र खेलकुद विकासलाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने गतिविधिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...