पोखरा । नेपाली कांग्रेस देउवा समूहले कास्की जिल्ला अधिवेशन कात्तिक १५ गते आइतबार पोखरामा आयोजना गर्ने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नियमित १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले गर्ने भएका छन्।

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अधिवेशनको तयारी, सम्पन्न भएका तल्लो तहका अधिवेशन तथा आगामी कार्यक्रमबारे जानकारी गराइएको हो।
जिल्ला अधिवेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेका अनुसार पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर प्लेट पार्टी प्यालेसमा उद्घाटन समारोह आयोजना हुनेछ। समारोहमा पार्टीका अन्य केन्द्रीय नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तय भएपछि केन्द्रीय निर्देशनअनुसार कास्कीसहित देशभर पार्टीका विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढाइएको हो।
कास्कीमा गत असोज ५ गतेदेखि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका प्राध्यापक डा. कृष्णप्रसाद गौतम र निर्वाचन समितिका प्रतिनिधि नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता वीरेन्द्र केसीको उपस्थितिमा अधिवेशन प्रक्रिया सञ्चालन हुँदै आएको समितिले जनाएको छ।
समितिका अनुसार हालसम्म कास्कीका ७२ वडा, पाँच पालिका, पाँच प्रदेश निर्वाचन क्षेत्र र तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ।
सम्पन्न अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा कास्की–१ बाट आनन्द सुवेदी, कास्की–२ बाट राजेन्द्र बराल र कास्की–३ बाट पदम बस्ताकोटी निर्वाचित भएका छन्। पोखरा महानगरपालिका समितिको सभापतिमा मिलन तिवारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा माधव आचार्य, अन्नपूर्ण गाउँपालिकाको सभापतिमा भरत केसी, मादी गाउँपालिकाको सभापतिमा खेमबहादुर जिसी र रूपा गाउँपालिकाको सभापतिमा ढकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश निर्वाचन क्षेत्रतर्फ कास्की–१ बाट इन्जिनियर परशुराम बस्नेत र इन्जिनियर अवित केसी, कास्की–२ बाट सुदीप गुरुङ र अभियान कोइराला तथा कास्की–३ को प्रदेशसभा क्षेत्र ‘ख’ बाट दीपेन्द्र लामिछाने सभापतिमा निर्वाचित भएका छन्। कास्की–३ को प्रदेशसभा क्षेत्र ‘क’ को अधिवेशन भने विशेष कारणले स्थगित गरिएको र शनिबारसम्म सम्पन्न गर्ने तयारी रहेको समितिले जनाएको छ।
पत्रकार भेटघाटमा संयोजक काफ्लेले अधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टीका विभिन्न तहका पदाधिकारी तथा शुभेच्छुकलाई आग्रह गरे। पार्टीभित्र सहमति, सहकार्य र आपसी सद्भाव कायम गर्दै आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशनका नाममा काठमाडौंमा गरिएको भेलापछि पार्टी कमजोर बनेको टिप्पणी गरे। विशेष महाधिवेशनकै कारण पछिल्लो निर्वाचनमा कांग्रेसका नेता तथा पार्टीले पराजय भोग्नुपरेको उनको दाबी थियो।
नियमित १५औँ महाधिवेशनपछि पार्टीले नयाँ एजेन्डासहित अघि बढेर नागरिकको विश्वास र भरोसा पुनः प्राप्त गर्ने बरालले बताए। उनले महाधिवेशनपछि कांग्रेसलाई थप सशक्त र जनविश्वासयुक्त पार्टीका रूपमा स्थापित गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन अधिवेशन तयारी समितिका सचिव सुरेन्द्रनाथ शर्माले गरेका थिए।