युवा पत्रकारिता पुरस्कारबाट सुमन थापा सिञ्जालीमगर सम्मानित

पोखरा, मङ्सिर ३ गते ।युवा पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम, सेकेण्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ ।


नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो । पुरस्कारसँगै उहाँलाई घलेक, नगद राशि रु दश हजार र सम्मान-पत्र प्रदान गरिएको थियो ।

कास्कीलाई कर्मथलो बनाएर विसं २०६८ देखि पत्रकारितामा सक्रिय सिञ्जालीमगरले युनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभएकी उहाँले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गर्नुभएको छ । हाल पनि पत्रकारितामा सक्रिय उहाँ फोनिज गण्डकी र नेपाल मगर पत्रकार सङ्घ कास्कीको कोषाध्यक्ष हुनुहुन्छ ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान र युवा पत्रकारितामा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले उहाँको नाम सिफारिस गरेको थियो । समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन), फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य रहनुभएको थियो ।

पुरस्कार ग्रहणपछि सिञ्जालीमगरले सम्मानले पत्रकारितामा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो । आदिवासी जनजातिको हकअधिकार, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै ब्रिटिस गोर्खाहरूको हकअधिकार र उनीहरूमाथि हुने विभेदविरुद्ध कलम चलाउन थप जिम्मेवार बनाएको उहाँको भनाइ थियो । उहाँले पत्रकारिता यात्रामा साथ र हौसला दिने परिवार, अग्रज, सहकर्मी तथा जीवनसाथीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले भाषा, संस्कृति, पहिचान र अधिकारका सवाल उजागर गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आदिवासी जनजाति पत्रकारलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा थप सक्रिय हुन आग्रह गर्नुभयो ।
प्रदेश सरकारले गुरुङ र मगर भाषासम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै उहाँले मातृभाषाको व्यावहारिक प्रयोगमा जोड दिनुभयो । सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रमा समेत मातृभाषाको प्रयोग हुनुपर्ने उहाँको भनाइ थियो । पुरस्कार प्राप्त गरेपछि मात्र नभई लामो समयसम्म निरन्तर पत्रकारितामा सक्रिय रहनु महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिता क्षेत्रमा पुरस्कार स्थापना गरी योगदान पु¥याएकोमा अक्षयकोषदाता गुरुङ दम्पतीलाई धन्यवाद दिनुभयो । सानो लगानीले पनि पत्रकारिता क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने उल्लेख गर्दै उहाँले अक्षयकोषमार्फत पत्रकारलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय पत्रकारितामाथि विभिन्न चुनौती थपिएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि सरकारी धरपकड, पत्रकार पक्राउ र त्रास सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो । मिडियामाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारमाथिकै हस्तक्षेप भएको बताउँदै उहाँले प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि पुरस्कार तथा सम्मानले महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । पत्रकारको हकहित, संरक्षण, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको विकासका लागि महासङ्घ निरन्तर क्रियाशील रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले विभिन्न क्षेत्रमा अक्षयकोष स्थापना गर्दै आएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । पुरस्कार तथा सम्मानले सम्बन्धित क्षेत्रका व्यक्तिलाई प्रोत्साहन मिल्ने भन्दै उहाँले आगामी दिनमा अक्षयकोष वृद्धि गरी पुरस्कार राशि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगरले गर्नुभएको सो कार्यक्रममा फोनिज केन्द्रिय सचिव एमबि आस्थामगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, फोनिजका संस्थापक अध्यक्ष रुद्रबहादुर हितामगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर, लगायत अग्रज पत्रकारहरु एवं जातिय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका सदस्यबाट सांस्कृतिक नृत्य प्रस्तुत समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव देविका तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...