पोखरा, फागुन १९ गते ।पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् ।पोखराको पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा एवाईसी हेम्जालाई १–० गोल अन्तरले पराजित गर्दै सँगम एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
सँगमको जीतमा वेल प्रसाद गुरङले निर्णायक १ गोलको योगदान दिए ।त्यस्तै दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २–१ गोल अन्तरले सहज जीत निकाल्यो ।
सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १ गोल गरे । भने फिटनेशको तर्फबाट किर्विनले सान्त्वना १ गोल फर्काए । पाटन एफसी र नयांगल्लाी एफसी बिच भएको तेस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्लीले ३–१ गोल अन्तरले पराजित गर्याे ।
त्यस्तै आयोजक निलो र चाउथे एफसी बिच भएको चौथो खेल गोल रहित बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा चाउथेले ३–२ गोल अन्तरले जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्याे ।
पाँचौ खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए ।
छैटौ खेलमा मालेपाटन एफसीले वेलीबारलाई २–० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।
यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एशोसियसनमाथी १–० गोल नतिजासहित सँघर्षपूर्ण जीत निकाल्यो ।
कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे ।खेल संयोजक निकेश गुरुङका अनुसार बिहिबार ७ खेल सञ्चालन हुनेछन् ।