पोखरा, असोज १४ गते ।मंगलबार राती परेको पानीका कारण पोखरा महानगरपालिका वडा नम्वर ३२ मा धान खेत बगाएको छ ।
पानीले सिचाईको लागि निर्माण गरिएको कुलो अस्तिको अविरल बर्षासंगै आएको बाढीले भत्काएपछि सयौं रोपनी धानबाली नष्ट भएको छ । बर्षाले वडा नं ३२ सातमुहाने, राजचौतारा, रुपागॉंउपालिका जोड्ने एउटै मात्र खुदीखोलाको पुल समेत जोखिममा परेको छ ।
खुदीखोलाले सुकुमबासी बस्ती हुदै गगनगौंडा पृथ्वीराजमार्ग जोड्ने बाटो र तल्लो कलभट पुल बाढिकै कारण भास्सिएको छ । वस्ती जोखिमपुर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन् । सयौ किसानको धानबाली सिंचाईरहित बनेको छ ।
तत्काल उक्त खोला नियन्त्रण गरी नगर कुलो, बाटो अनि पुल संरक्षणमा ध्यान दिन स्थानीयले सरोकारवालाहरुसंग आग्रह गरेका छन् । पीडितलाई उचित क्षतिपुर्ती दिन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र वडा नम्वर ३२ अध्यक्ष र जनप्रतिनिधिहरुसंग किसानले अनुरोध गरेका छन् ।
तस्विर साभार ः दिपकजंग थापाको फेसबुकबाट ।