छिमेकीहरुको भेलाले बलात्कारको जरिबाना ५ लाख तोके

विराटनगर– मोरङको धनपालथानमा बलात्कारको घटना ५ लाखमा मिलापत्र गरेकाे पाइएकाे छ।

मिलापत्रमा धनपालथान गाउँपालिका– ५ की वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रविणकुमार खवाससहित पीडकका आफन्त र अन्य छिमेकीले हस्ताक्षर गरेका छन्।

धनपालथान ५ नहर छेउमा गत भदौ २४ गते खेतमा युरिया मल छर्न पुगेका बेलबारी नगरपालिका– ८ का ३३ वर्षीय सुरेश खवासले २१ वर्षीया युवतीलाई करणी गरेको आफन्तको आरोप छ। धानबालीबाट स्थानीयले आपत्तिजनक अवस्थामा भेटेपछि खवासलाई नियन्त्रणमा लिएका थिए।

घटनापछि भोलिपल्ट बिहान किशोरी र उनको परिवार उजुरीका लागि प्रहरी कार्यालय जाने तयारीमा थियो। तर गाउँको घटना गाउँमै मिलाउने भन्दै समाज बस्यो। केटा पक्ष र किशोरीका छिमेकीहरु भेला भए।

भेलाले बलात्कारको जरिबाना ५ लाख तोकिदियो। खवासको परिवारले ५ लाख दिनुपर्ने लिखित कागज भयो। कागजमा असोज ९ गतेभित्र क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

युवतीका मामा नयन्द्रनारायणले बलात्कार गरेको जानकारी पाएपछि भोलिपल्ट बिहान प्रहरीमा उजुरी गर्ने तयारी गर्दा समाजले रोकेको बताए। त्यसपछि बसेको समाजले गरेको निर्णय मानेको उनले बताए।

भदौ २५ गते बसेको पञ्चायतीले असोज ९ भित्र पैसा दिने उल्लेखसहित मिलापत्र गर्‍यो। तर समाजले कबोल गरेअनुसार पीडित परिवारले क्षतिपूर्ति पाएन। भदौ २५ मा बैठक राख्न भूमिका खेलेकी वडा सदस्य नेपालदेवी खवासको घरमा फेरि छलफल भयो।

छलफलमा पीडक पक्षलाई बोलाइयो। तर छलफलमा आएनन्। पीडक पक्ष छलफलमा नआएपछि गोप्य राख्ने भनिएको घटनाबाहिर आयो। एक महिनापछि बलात्कारको घटनामा मिलापत्र भएको जानकारी पाएको प्रहरीले पीडित युवतीलाई बोलाएर आइतबार सोधपुछ गरेको छ।

बलात्कार जस्तो जघन्य अपराधलाई गाउँमै ढाकछोप गर्न खोजेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सबैलाई कानुनी दायरमा ल्याउने बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...