पोखरा, कात्तिक १ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई गरिवीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सार्थक उत्प्रेरणा गरिबी निवारण दिवसले प्रदान गरोस भन्ने कामना गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश जारी गदै उहाँले आर्थिक सामाजिक रूपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सवै प्रकारका साधन स्रोत र अवसरहरुमा पँहुच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक वाँच्ने र मानवअधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनु भएको छ । गरिबी निवारण नीति, पन्ध्रौं योजना, दीगो विकास लक्ष्यहरु, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजनाहरु तय गरिसकेको उल्लेख गदै उहाँले भन्नुभएको छ, निरपेक्ष गरिवीको रेखामुनी रहेको १८.७ प्रतिशत जनसंख्यालाई आगामी १० वर्ष सम्ममा ५ प्रतिशत भन्दा तल सीमित गर्दै आगामी २३ वर्ष भित्र शुन्यमा झार्ने र सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकका रुपमा उभ्याउने संकल्प गरेका छौँ ।