स्मार्ट मिटर जडान शुरू

काठमाडौँ, कात्तिक १४ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ । मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सूचना प्रविधिमैत्री स्मार्ट मिटर जडान काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत जडान जारी छ ।


गत साउन २५ मा उद्घाटन गरिएको स्मार्ट मिटर जडान कार्य तत्काल रत्नपार्क केन्द्रअन्तर्गतका ग्राहकमाझ ल्याउने अन्तिम तयारी रहको प्राधिकरण स्मार्ट मिटरिङ महाशाखा प्रमुख रोशन न्यौपानेले जनकारी दिनुभयो । प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्दैछ ।

न्यौपानेका अनुसार अहिले मण्डिखाटार, सुकेधार, गोङ्गबु र धापासी क्षेत्रमा १२ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसकिएको छ । दशैँलगत्तै रत्नपार्क वितरणसहितका बाँकी क्षेत्रमा जडान कार्य थाल्न लागिएको हो । महाराजगञ्ज र रत्नपार्कको सम्पन्न गर्न जनशक्ति थप गर्न लागेका छौँ, न्यौपानेले भन्नुभयो, “उपत्यकाभरका लागि पनि मिटर खरिदलगायतका टेन्डर आह्वानको अन्तिम तयारीमा छौँ।”

पहिलो चरणको विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए । सामान आपूर्तिलगायत प्रविधिक समस्या हालसम्म नपरेको न्यौपानेको भनाइ छ । करिब चार सय ग्राहकको प्रतिस्थापन गर्न भने समस्या आएको र त्यसबारे प्राधिकरण उच्च अधिकारीलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो।

स्मार्ट मिटरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि अनुमति आवश्यक पर्ने हुन्छ । मन्त्रालयबाट दोस्रो चरणका लागि रेडियो फ्रिक्वेन्सीको अनुमतिको प्रतीक्षामा प्राधिकरण छ । यो अनुमति पाएपछि ठेक्का आह्वान गर्ने र ठेक्का लागेको ३० महिनाभित्र काठमाडौँ उपत्यकाभित्र सबै मिटर स्मार्टमा रूपान्तरण गरिसक्ने योजना छ । अहिले कोभिड महामारीका कारण पनि पहिलो चरणको काम प्रभावित भएको थियो । खासगरी कर्मचारीलाई घरभित्र आउन डराउनुपर्ने अवस्थाले गर्दा बन्दाबन्दीका समयमा स्मार्ट मिटर जडान प्रभावित भएको थियो तर अहिले भने त्यस्तो समस्या नरहेको न्यौपानेको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...