मंसिर १ गते नेपाल संवत् तथा म्हः पूजा मनाउन सबै नेवाः समुदायलाई आव्हान

काठमाडौं, कात्तिक ७ गते । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले मंसिर १ गते नेपाल संवत् तथा म्हः पूजा (आत्मा पूजा) मनाउन सबै नेवाः समुदायलाई आव्हान गरेको छ ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विक्रम संवत्को २०७७ को पात्रोमा नेपाल सम्वत परिवर्तन हुने दिन र म्हः पूजा औंसीको दिन तथा भाइटीका प्रतिपदाको दिन भनी उल्लेख भए पनि नेवाः समुदायले भने द्धितियाको दिनमा भाइटीका गर्ने निर्णय गरेको छ ।
नेवाः देय् दबूःको संयोजकनमा नेपालभाषा मंका खलः, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानलगायत संस्थाहरुको सोमबार बसेको भर्चुअल बैठकबाट सो निर्णय गरेको जनाइएको छ


नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को संयोजक रमेश महर्जनको अध्यक्षतामा गरिएको बैठकमा नरेश ताम्रकार, रमेशमान पिया, ऋषिप्रसाद श्रेष्ठ, सुरेन्द्र बज्राचार्य, श्यामकृष्ण मानन्धर, मल्ल के सुन्दर, डा. चुन्दा बज्राचार्य, डा. पुष्पराज राजकर्णिकार, सुरजबीर बज्राचार्यलगायतका प्रतिनिधिहरुले भाग लिनुभएको थियो ।सो बैठकले कोरोना भाइरस संक्रमणको कारण नेपाल संम्वत् न्हूदँया (नयाँ वर्ष)को अवसरमा साँस्कृतिक ¥याली तथा सभा समारोह भिडभाड नगरी मनाउन पनि आग्रह गरिएको छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का संयोजक रमेश महर्जनले नेपाल संवत्को सुरुकालदेखि नै कछलाथ्व प्रतिपदामा म्हः पूजा मनाउँदै आइरहेको दाबी गर्नुभयो ।

देवकार्य र उत्सवहरूमा सूर्योदयको समयमा विद्यमान तिथिलाई सोही दिनको तिथि मानी पर्व मनाउँदै आएको तथ्य रहेको पनि महर्जनले जानकारी दिनुभयो ।यसरी कछलाथ्व प्रतिपदाका दिन नववर्ष, यसको अघिल्लो दिन कौलागा औंसी (नेपाल संवत्को अन्तिम दिन) लक्ष्मीपूजा र नववर्षको भोलिपल्ट यम द्वितीयामा भाइटीका सनातनकालदेखि मनाउँदै आइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले इस्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताका ऋण चुक्ता गरिदिनुभएको थियो । सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुसियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि.सं. ९३७ देखि नेपाल संवत् स्थापना भएको जनश्रुति रहेको छ । प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ । संस्कृतविद् गणेशराम लाछीका अनुसार चन्द्रमासका आधारमा कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुने गर्छ । यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक तीन वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ । सो अधिक महिनालाई नेपालभाषामा अनलागा भनिन्छ ।

साभार गोरखापत्र अनलाइन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...