‘३२,३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ’ : प्रधानमन्त्री

पार्टी फुट्न दिन्न, नयाँ पुस्तालाई नेतृत्व दिऊँ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्न जरूरी नभएको बताएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यहरू अनौपचारिक बैठक बसेको र सचिवालय बैठक राख्न आफूलाई लिखित पत्र दिएको सन्दर्भमा प्रधानमन्त्रीले नेताहरूलाई गुटबन्दी नगर्न भनेका छन्।

पार्टीभित्र संकट देखा परे पनि त्यो फुटसम्म नपुग्ने संकेत प्रधानमन्त्रीले गरेका छन्।

‘’दुई अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने हो। एजेण्डा तय गरेर बैठक बस्ने हो। केही मान्छे भेला भएर बसेर झुटा निश्कर्ष निकाल्नु र पार्टीलाई समस्यामा पार्नु गलत हो,’ एपीवान टिभीमा पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले गुटबन्दीले पार्टीलाई सखाप पार्नेसमेत बताए। ‘गुटबन्दीले पार्टीलाई सखाप पार्छ। ध्रुम्बाराहीमा बसेको बैठक गुटगट हो। यस्तो गर्नु गलत हो,’ उनले भने।

उनले पार्टी नफुट्ने भन्दै फुट्नबाट जोगाउन आफू सक्रिय रहेको बताएका थिए। ओलीले पार्टी फुटाउँदैछ भनेर आफूमाथि गलत आरोप लगाइने गरेको प्रधानमन्त्रीको भनाइ थियो।

आफूले स्वतन्त्र रूपमा सरकार चलाउन नपाएको गुनासो पनि प्रधानमन्त्रीको छ। पार्टीकै नेताहरूका कारण सरकार सञ्चालन चाहेजसरी गर्न नपाएको उनले बताए।

‘मैले संयुक्त सरकार जसरी चलाएको छु। म आफ्ना मान्छेको पक्षमा मरिमेटने मान्छे होइन। मेरो आफ्नो भन्ने केही छैन,’ उनले भने, ‘मैले विभिन्न खालका मान्छे लिनै परेको छ। मैले चाहेको जस्तो भएको छैन। यो सबै पार्टी एकताका लागि गरेको हो।’

उनले कथा सुनाउँदै पार्टीको आमा आफू भएको पनि दाबी गरेका थिए। नक्कली आमालाई बच्चाको माया नहुने प्रधानमन्त्रीको भनाइ थियो।

यसबीच उनले ३० ‍औं वर्ष अध्यक्ष भइसकेका र पटकपटक प्रधानमन्त्री भइसकेका पार्टीभित्रका नेताले फेरि मरिहत्ते गरेकोमा असन्तुष्टि पनि जनाए।

अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने र मरिहत्ते गर्न नहुने बताएका थिए।

‘३२,३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ। नयाँ पुस्तालाई दिऊँ भनेको हो। त्यो पुस्तालाई जिम्मा लगाउन हामी किन तयार हुदैँनौ?,’उनले प्रश्न गरे, ‘हामी किन मलाई चाहियो, मेरो भाग पुगेन मात्रै भन्छौ। महाधिवेशनसम्म हामी ७० कट्छौ। ७० कटेकाले अब ओगटनु पर्छ भन्ने छैन।’

पार्टीभित्र भएको गुटगत बैठकले गलत सन्देश गएको भन्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषदको पुनर्गठनको संभावना नरहेको पनि बताए।

आधाआधा कार्यकालको विषय प्रचण्डलेनै छोडेको प्रधानमन्त्रीको भनाइ थियो।

नेपालको भूमि फिर्ता आउने होकी भनेर पार्टीका नेता आलोचनामा उत्रिएको उनको बुझाइ छ। रअ प्रमुख सामन्त गोयलसँग भएको भेटबारे परराष्ट्रमा रेकर्ड राखिएको प्रधानमन्त्रीले दाबी गरेका थिए।

प्रधानमन्त्री ओलीले पार्टी गर्न आफूले नभनेको पनि बताएका थिए। सचिवालय सदस्यहरूले भन्दैमा जतिबेला पनि बैठक नबस्ने उनको भनाइ छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...