वीरगञ्ज,४ मंसिर। वीरगञ्ज–१० घडिअर्वाकी प्रभा देवीले छठ मनाउन थालेको २१ वर्ष भयो । यो वर्षको जस्तो सुनसान छठ उनले कहिल्यै अनुभव गरेकी थिइनन् ।
कोरोना संक्रमणको जोखिमका कारण चैते छठमा उनी घाट जान पाइनन् । लकडाउनका कारण घरको छतमै मनाइन् । संक्रमणको जोखिम कायमै रहेकाले अहिलेको छठमा पनि घाट जान नपाइने हो कि भन्ने चिन्ता थियो उनलाई ।
छठ शुरु भइसकेपछि बुधबार बल्ल घाट जान पाइने जानकारी पाउँदा उनी खुसी छिन् । ‘कोरोना महामारीका कारण चैते छठ छतमा पित्तलको बाटामा पानी राखेर मनाएको थिएँ,’ उनले भनिन्, ‘यो छठ सुरक्षित तरिकाले घाटमै गएर मनाउन पाइने भनिएको छ । मास्क लगाएर परिवारका सबै सदस्य घाट पुगेर सूर्यलाई अर्घ दिएर फर्कन्छौं ।’
विगतका वर्षमा आजको दिनमा घाटमा आफू बस्ने ठाउँको सरसफाइ गरी शिरसोप्ता बनाउने लगायतका तयारी भइसक्ने गरेकोमा त्यो सबै गर्न बाँकी रहेको उनले सुनाइन् । ‘छठ घाटमा मनाउने कि नमनाउने ? टुंगो नै थिएन,’ उनले भनिन्, ‘घाटतिरको तयारी गर्न पाएकै छैन, अब शुरु गर्नुपर्छ ।’
छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल गुप्ताका अनुसार छठ हुने/नहुने अन्यौलको अवस्था थियो । स्थानीय प्रशासनसँग परामर्श गर्दा परम्परागत चाड हो, नगरौं भन्न मिलेन, पूजा गर्ने तर धेरै भिडभाड नहुने वातावरण मिलाउन आग्रह भयो ।त्यसैले सजावट रोकेर लाइटिङको मात्रै काम शुरु गरेको सचिव गुप्ताले बताए । ‘विगतका वर्षमा यतिबेला सजावटको ९५ प्रतिशत काम भइसक्थ्यो, यस वर्ष त्यस्तो कुनै तयारी छैन । सुरक्षाका लागि झालर बत्ती भने लगाउँदैछौं ।’
सजावटमा १५ लाखको हाराहारीमा खर्च गरिने घडिअर्वा छठघाटमा सरसफाइ र बत्ती लगाउनका लागि यस वर्ष डेढ–दुई लाख मात्रै खर्च गरिँदैछ । रक्तदान, चिठ्ठा कार्यक्रम, पण्डाल लगाउने लगायतका गतिविधि स्थगित गरिएको छ ।‘आउनुस्, अर्घ दिनुहोस्, पूजाआजा गरेर फर्किहाल्नुस् । घाटमा धेरैबेर नबसिदिनुस् भनेर सूचना नै जारी गर्छौं,’ सचिव गुप्ताले भने, ‘घाटमा प्रवेश गर्न मास्क अनिवार्य गरेका छौं ।’ अन्य सुरक्षा व्यवस्थाका लागि बिहीबार सुरक्षा निकायसँग छलफलको तयारी गरिएको उनले सुनाए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र महानगरपालिकाले छठघाटमा भिडभाड नगर्न आग्रह गरेका छन् । तर बजारमा चाडपर्वको भिडभाड नै छ । कतिपयले मास्कसमेत नलगाइ हिँडडुल गरिरहेका छन् ।