लैङ्गिक समानता विश्वको साझा दायित्व राष्ट्रपति भण्डारी

काठमाडौँ, मङ्सिर १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपतिले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार दिनुभएको सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मूूल गर्न सबै सक्रिय हुनुुपर्छ भन्नुुभयो ।


संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा तय गरेको छ ।

यस नारालाई सफल बनाउन बुधबारदेखि ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै छ । कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानता स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको भनाइ राष्ट्रपतिको छ ।नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको छ । राष्ट्रपतिले सन्देशमा भन्नुुभएको छ, “नेपाल सरकार संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्छ । ”

उहाँले बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथा जस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानुनले निषेध गरे पनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ भन्नुुभयो ।पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सरकार, सामाजिक सङ्घसंस्था, मानव अधिकारकर्मीलगायत सम्बद्ध सबै पक्षलाई सहकार्य गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुुभएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्छ । ”राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ । राष्ट्रपतिले तीनै तहका सरकारले कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दुर प्रयास गर्नुपर्नेमा जोड दिनुुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...