राज्यले तेरो मेरो भन्दैन : प्रधानमन्त्री

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् ।

बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गरे ।

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए । उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताए ।

 

‘सरकारले गच्छे भन्दा एक कदम अगाडि बढेर तपाईहरुलाई साथ सहयोग गर्न हात बढाउनेछ, हामीसँग रिजर्भ सेभिङ्ग छैन’ प्रधानमन्त्रीले भने, ‘हामीले फेरि पनि साझा प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु यसमा केन्द्रित छन् ।’

 

प्रधानमन्त्री ओलीले दलाल पुँजीवाद र पुँजीवादको समेत चर्चा गर्दै राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका र कर तिरिरहेका सबै उद्योगी व्यवसायीहरु राज्यका लागि समान हुने बताए ।

 

‘दलाल पुँजीवाद, नवउदारवादलाई प्रधानमन्त्रीले प्रश्रय दियो, पुँजीवादीलाई प्रश्रय दियो भनेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाउने अभिव्यक्ति आएर तपाईहरुलाई नराम्रो लागेको हुन सक्छ’ प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई आश्वस्त पार्दै भने, ‘म तपाईहरुलाई प्रष्ट पार्न चाहान्छु, उद्योगी व्यवसायीहरु मेरो वा तेरो होइन । राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका, कर तिरिरहेका, राज्यका लागि काम गरिहेका सबै राज्यका लागि समान छन् । राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण र सुरक्षा दिन्छ ।’

 

कसैले राजनैतिक खपत, मान्छे अल्मल्याउन वा कार्यकर्तालाई वर्गल्याउन कुनै हिसाबले अतिवादी आफ्नो सोचहरुको प्रकटीकरण गरेको हुन सक्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘सरकार बहुत स्पष्ट छ । नेपालका उद्योग व्यवसाय व्यापार सेवाका क्षेत्रहरु वा अरु व्यवसायहरुलाई साथ सहयोग दिन सरकार तयार छ । के-के गर्नुपर्छ भन्ने कुरा साधारणसभाबाट निष्कर्ष निकाल्नुस् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...