काठमाडौँ, मङ्सिर १४ गते । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयले उहाँ आइतबार काठमाडौँ आउनुहुने कार्यक्रम तय भएको जनाएको छ ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उहाँसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ ।उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।
नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाउनुभएको थियो । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।
बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गर्नुभएपछि उहाँको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।