काठमाडौँ, मङ्सिर २० गते । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
आव २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्शन गर्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारणसहित गर्नुहोस् । ”
मन्त्री पौडेलले अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयको पुँजीगत खर्च बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिनुभयो ।उहाँले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्ति क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा नै सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिनुभयो ।
मन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने समयमै बेरुजु फस्र्योट गर्ने, लक्ष्यअनुरूप बजेट कार्यान्वयन गर्ने र कार्यसम्पादनका लागि तोकिएका सूचकहरूको लक्ष्य समयभित्रै हासिल गरी चालू आवको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा पनि जोड दिनुभयो । बैठकमा मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले चालू आवको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, शोधभर्नाको अवस्था, बेरुजु फस्र्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था प्रस्तुत गर्नभएको थियो ।