पोखरा, मंसिर २४ गते ।नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिटले सबै खाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताउनु भएको छ । महिला हिंसाका विषयमा स्थानीय तहहरुसंग बुधबार भर्चुअल अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले लैगिंक हिंसालाई मानव अधिकार विरुद्धको अपराध भएको बताउदै यसका विरुद्ध सबै मिलेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।‘बेलायले महिला हिंसा विरुद्धको अभियानलाई प्राथमिकता दिएको छ । त्यसैले सबैको साझा प्रतिबद्धताको खाँचो छ ।’ राजदुत निकोलाले हिंसा विरुद्धको अभियान सञ्चालन भैरहदाँ तत्कालै यसको परिर्वतन सम्भवन नहुने बताउदै अभियानलाई जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका, बुटबल र जनकुपर उपमहागनरपालिकाले लैंगिक हिंसा सम्वन्धि बिषयमा आआफना प्रस्तुतीहरु राख्नुभएको थियो । प्रस्तुतीहरु सुन्दा राजदुत निकोलाले स्थानीय सरकारहरुले गरेका प्रयासबाट आफु खुशी भएको बताउनुभयो । उहाँले बेलायतले शहरी विकास, महिला हिंसा लगायतका क्षेत्रमा सहयोग गरेको बताउदै आमागी दिनमा पनि सहयोग रहने बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुुर जिसीले महिला हिसा विरुद्धको अभियान सञ्चालन भएको बताउदै यसको समिक्षा गर्ने बेला भएको बताउनुभयो । उहाँले सवै खाले हिंसा अन्त्यका लागि महानगर प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख जिसीले राजकीय सेवा सुविधा पाएकाहरुबाटै हिंसा अन्त्य गर्नुपर्नेैमा जोड दिनुभयो । ‘बाहिर हिंसा अन्त्यका कुरा गर्ने तर राजकीय पदमा बसेकाहरुले नै हिंसा गर्ने हो भने यसको अर्थ हुदैन् ।’ प्रमुख जिसी हिंसा अन्त्यका लागि पोखराले गत वर्षदेखिनै महिला हिंसा विरुद्ध पुरुषको एकबद्धता समसचेतना भन्ने नारा तय गरेर अगाडी बढेको बताउनुभयो ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला हिंसाका लागि पोखरा महानगरले सञ्चालन गरेका कार्यक्रम बारे प्रस्तुती राख्नुभएको थियो । उहाँले महिला हिंसा अन्त्यका लागि महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले हिंसाको कारण खोज्ने, नीति कार्यक्रम निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन हुनुर्नेमा जोड दिनुभयो । उहाँले उत्पादनका स्रोत र साधनमा पुरुषको स्वामित्व रहेकाले हिंसामा पर्ने गरेको बताउदै महिलालाई सक्षम बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गरे उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । एकल, हिंसा÷द्धन्द्ध पीडित, दलित र आर्थिक अवस्था कमजोर भएका महिलाहरुको आर्थिक अवस्थालाई माथि उठाउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बुटबल उपमहागनरपालिका प्रमुख शिवराज सुवेदीले हिंसा अन्त्यका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउदै त्यसका लागि आर्थिक, शैक्षिक रुपमा महिलाको जीवनस्तरमा परिर्वतन ल्याउनुपर्नेमा जोडदिनुभयो । बुटबलका उपप्रमुख गुमादेवी आचार्यले लैगिक हिंसा मुक्त शहर निर्माण गर्न रणनीतिक योजना बनाएको बताउनुभयो । जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर शाहले जनकपुर शैक्षिक रुपमा पछाडी रहेका कारण हिंसा कायममै रहेको बताउनुभयो । उहाँले अझै पनि ४८ प्रतिशत नागरिक शिक्षाबाट बञ्चित रहेको बताउनुभयो ।