पोखरा, पुस १९ गते । महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिहरुसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकरात्मक प्रभाव र महिलालाई उद्यमी बनाउन महत्वपूर्ण भुमिका खेलेको सहभागीहरुले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उपप्रमुखसंग महिला कार्यक्रम नमुना र प्रभावकारी रुपमा अगाडी बढेको बताउनुभयो । कार्यक्रमलाई संस्थागत रुपमा बलियो बनाउदै अव आउने जनप्रतिनिधिले त्यसलाई निरन्तरता दिने गरी ब्यवस्थित गरेर लैजाने बताउनुभयो । कार्यक्रम प्रभावकारी भएको र महिला दिदीबहीनहरु उत्साहित हुनुहुन्छ उहाँले भन्नुभयो, ‘देशभरमै नमुना कार्यक्रम भएकाले अन्य पालिकाहरुले समेत सिको गरेका छन् । पोखरा महानगरपालिका अगुवा बनेको छ ।’ उहाँले कार्यक्रमलाई थप प्रभावकारी र ऋण लगानीलाई बृद्धि गर्न बैंकहरुसंग समेत सहकार्य गरेर जाने विषयमा छलफल भैरहेको उहाँले बताउनुभयो । उहाँले गत वर्ष कोरोनाले गर्दा बजेट कार्यान्वयनमा समस्या भएको बताउदै अगामी दिनमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गरिने बताउनुभयो ।
उपप्रमुख एंव कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले महिलाहरुलाई आर्यआर्जनसंग जोडेर आत्मनिर्भर बनाउने योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले महिलाहरुलाई आर्यआर्जनसंग जोडदै उद्यमी बनाउदै आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । केही गछौ भन्ने दिदीबहिनीहरुका लागि कार्यक्रमले सहयोग पु¥याएको छ । उहाँले गत वर्षहरुमा कार्यक्रमका लागि बजेट बिनियोजन भएपनि छुटटै कोष नहुदाँ केही अप्ठ्यारो भएपनि यस पटकबाट उपप्रमुखसंग महिला कार्यक्रमको आफनै कोष रहेको बताउनुभयो । उहाँले महिलाहरु आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका कारण हिंसामा पर्ने गरेको बताउदै आर्थिक रुपमा सबल, सक्षम र आन्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याएको बताउनुभयो । महानगरले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको यो तेश्रो वर्ष हो । पहिलो वर्ष दुई करोड र दोश्रो वर्ष र तेश्रो वर्ष चालु आर्थिक वर्षमा तीन÷तीन करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत विपन्न, एकल, अपाङगता भएका र हिंसा पीडित महिलाका लागि प्राथमिकता दिएर ऋण लगानी गरेको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिका सदस्य राधिकाशाही योगीले दिदिबहिनीहरुलाई कार्यक्रमले धेरै सहयोग पुगेको बताउनुभयो । उहाँले अनुगमनमा जादाँ कार्यक्रम प्रभावकारी देखिएको भन्दै यसलाई अझै ब्यवस्थित गरेर जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै सञ्चालक समिति सदस्य एवं कार्यपालिका सदस्य सन्तु सुवेदीले ग्रामीण क्षेत्रका वडामा कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । ‘हामी अनुगमनमा जाँदा देख्यौ धेरै दिदिबहिनीहरुले लाख हजार र एक लाखले पनि आर्थिक आयआर्जनमा धेरै सहयोग पुगेको देखियो ।’ कार्यक्रममा महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, अधिकृत एवं उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिका सदस्यसचिव विष्णुमाया पौडेल लगायतले भनाई राख्नुभएको थियो ।