(कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने

काठमाडौँ, माघ ७ गते । भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।


भारत सरकारले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिनुभयो । “अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ”, उहाँले भन्नुभयो । नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उहाँले स्पष्ट पार्नुभयो ।राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भिœयाउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।

नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ । राजदूत आचार्यले खोप नेरपाल भिœयाउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थाल्नुभएको थियो । जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भिœयाउने वातावरण बनाउनुभएको थियो । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।

राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको बताउनुभयो । सुरुवातमा आउने तीन प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिनेछ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको छ ।

नेपाललाई भारतबाट खोप सुनिश्चित गर्न केही दिनअघि भारतमा भएको संयुक्त आयोगको बैठकले ठूलो भूमिका खेलेको राजदूत आचार्यले जानकारी दिनुभयो । बैठकमा भाग लिन जानुभएका परराष्ट्रमन्त्रीसहितको प्रतिनिधिमण्डलसामु भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करले खोप नेपाललाई आवश्यकताअनुसार दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

आचार्यले भन्नुभएजस्तै नेपाल सरकारले सबै जनसङ्ख्यालाई पुग्ने कुल ७२ प्रतिशत खोपको आवश्यकता पूर्तिका लागि भारतसहित विभिन्न छिमेकी मुलुकमा कूटनीतिक प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये ४० प्रतिशतसम्म खोप भारतबाट ल्याउन अनुदान र खरिद दुवै प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो ।खोप ल्याउनुअघि र ल्याएपछि के कसरी काम अगाडि बढाउने भन्ने रिहर्सलसम्मको अन्तिम प्रक्रिया नेपालले पूरा गरिसकेको छ ।

भारतबाट आउने भनिएको ४० प्रतिशतमध्ये पहिले तीन, त्यसपछि १७ र अन्तिममा २० प्रतिशत खोपको मात्रा भारतबाट ल्याइने योजना छ । भारतबाट आउनेमध्ये विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अनुदानमा दिने भनेको कोभ्याक्स अनुदानअन्तर्गत पनि केही मात्रा पर्नेछ । जसअनुसार २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप अनुदानअन्तर्गत नेपालले पाउनेछ । भारतबाट खोप नेपाल ल्याउँदा ढुवानी खर्चसमेत कम पर्ने र खोपको मात्राको मूल्य पनि कम पर्नेछ । बाँकी ३२ प्रतिशत खोप अन्य मुलुकबाट नेपाल भिœयाउनका लागि समेत प्रक्रिया अगाडि बढेको डा. अधिकारीको भनाइ छ ।

नेपालको खोप भण्डारण क्षमतासँग समेत मेल खाने हुनाले पनि यो खोप सहज भण्डारण हुनेछ । जसका लागि दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमको भण्डारण क्षमता अनुकूल हुनाले पनि भारतबाट आउने खोपका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ । भारतमा भने यतिबेला जोखिमको अग्रपङ्क्तिमा रहेकालाई धमाधम खोप लगाउने काम जारी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...