देशभर वर्षा र हिमपात

काठमाडौँ, माघ २४ गते । लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।

नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ । मनाङ, हुम्ला, जुम्ला, कर्णाली भेगमा लेकहरू बिहीबार रातिदेखि नै हिमपात जारी छ ।
गत असोज–कात्तिकदेखि नेपालमा वर्षा हुन सकेको थिएन । पश्चिमी वायुको प्रभाव कमजोर रहँदा त्यो अवधिमा वर्षा हुन नसकेको मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

अहिले सिर्जना भएको पानी पार्ने प्रणाली पनि मात्र एक दिनका लागि नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार अपराह्नदेखि मौसममा सुधार हुनेछ । आइतबारदेखि पूर्णरूपमा सफा हुने सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आएको पश्चिमी वायुमा पर्याप्त जलवाष्प छैन, त्यसैले यो चाँडै अन्त्य हुनेछ ।”

वर्षात्को क्रम हल्का रहे पनि हिमाली र उच्च पहाडी भेगमा यस पटक यो प्रणालीले राम्रो हिमपात गराउन सफल भएको उहाँले बताउनुभयो । जसका कारण हिमाली भेगका किसानले लगाएको हिउँदे खेतीमा सकारात्मक असर पर्नेछ ।शुक्रबार दिउँसो नै काठमाडौँलगायतका स्थानमा वर्षा हुने छाँट देखिए पनि चर्को हावा चलेकाले फाट्टफुट्ट मात्र वर्षा भयो । राति भने हल्का वर्षा भएको थियो ।

महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदलीकोअवस्था रहनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...