काठमाडौं । युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज छलफल भएको छ ।
एमाले केन्द्रीय सदस्य तथा सांसद बस्नेतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीसँग डिल्लीबजार कारागारमै भेट गरेका हुन् । पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ । यसैबीच बस्नेत र चौधरीको भेट भएको हो ।
यसैसाता जसपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीलाई भेटेका छन् । ओलीनिकट प्रभावशाली नेता बस्नेत चौधरीलाई भेटेर धनगढीतर्फ लागेका छन् ।