पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ ।
सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।हाल विमानस्थलको ७२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । तोकिएको म्याद सकिन ७५ दिन बाँकी छ । यो अवधिमा बाँकी काम सक्न सम्भव छैन । अहिलेकै गतिमा काम भए निर्माण पूरा हुन आगामी डिसेम्बरसम्म पुग्नुपर्छ । ‘कोरोना महामारी नभएको भए ६ महिना अगावै सक्ने योजना थियो,’ उनले भने, ‘बीचमा काम एकदम सुस्त भएकाले तोकिएको समयमा सक्न मुस्किल छ ।’
विमानस्थलमा १८ प्रतिशत उपकरण र १० प्रतिशत सिभिलको काम बाँकी छ । विमानस्थललाई आवश्यक उपकरणमध्ये चीनबाट आउनुपर्ने सामान आइसकेको छ । अमेरिका, युरोप र अस्ट्रेलियाबाट आउनुपर्ने सामग्री आइपुगेको छैन ।
उपकरण जडान र परीक्षणका लागि सम्बन्धित कम्पनीकै जनशक्ति आउनुपर्छ । स्पष्ट भिसा नीतिको समस्याले तत्काल ती कामदार आउने अवस्था नरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । यिनै विविध कारणले ठेकेदार कम्पनीले म्याद थपको निवेदन दिने तयारी गरेको हो ।
विमानस्थलको १४ वटा बिल्डिङ निर्माण भएर फिनिसिङको काम बाँकी छ । हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्यांगर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एक्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सकिएको छ । हाल १ सय ६६ चिनियाँ र ५ सय ४८ नेपाली गरी ७ सय १४ कामदार निर्माणमा खटिएका छन् ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणाधीन विमानस्थलमा हाल डेडिकेटेड फिडर निर्माणको काम भइरहेको छ । विमानस्थलभित्र फ्युल स्टेसन बनाउन नेपाल आयल निगमले चैत २ मा टेन्डर आह्वान गरेको छ । निगमले ट्यांक फाउन्डेसन, पम्प सेड, ग्यान्ट्री सेड, फायर पम्प सेड, प्रशासकीय भवन, प्रयोगशाला भवन, बाउन्ड्री पर्खाल, भण्डारण ट्यांक, पाइपिङ, पम्पिङ, फिल्ट्रेसन प्रणाली, अग्नि नियन्त्रण प्रणाली, अन्य मेकानिकल र विद्युतीय काम गर्नेछ । फ्युल स्टेसन बनाउन विमानस्थलले जग्गा उपलब्ध गराइसकेको छ । उडान हुने बेलासम्म फ्युल स्टेसन निर्माण नसकिए गाडीबाट ल्याएर पनि उपलब्ध गराउने आश्वासन निगमले दिएको छ ।
कान्तिपुर दैनिक