पोखरा, फागुन १९ गते । पोखराको पर्यटकीय आकर्षण फेवातालको पानीको सहत पुरानै अवस्थामा फर्काउन सुरु गरिएको छ । बाँध जिर्णभएपछि मर्मतका लागि तालको पानीको सतह घटाइएको थियो । गत शुक्रबारदेखि फेवातालमा पानी भर्न थालिएको बताइएको छ ।
फेवातालको मुहान हर्पन खोला र आकासे पानी नै अहिले तालको सतह पुरानै अवस्थामा फर्काउन प्रयोग गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो ।
उहाँले अबको २२ दिनदेखि एक महिनाभित्र तालमा पानीको सतह पुरानै अवस्थामा पुग्ने बताउनुभयो ।ताललाई पुरानै स्वरुपमा फर्काउन १ दशमलव ४५ मिटर पानी भर्नुपर्ने हुन्छ । पछिल्लो ५ दिनमा ० दशमलव ५ मिटर पानी भरिएको इन्जिनियर आचार्यले बताउनुभयो ।
फेवातालबाट गत २४ माघमा करिब ६ करोड लिटर पानी बगाइएको थियो । पछिल्लो ३–४ दिन पानी प¥यो । खास १५ दिनमा ० दशमलव ५ मिटर पानी बढ्नुपर्ने बताइएको छ । अवको एक महिनामा पुरानै अवस्थामा पानी तालमा जम्मा हुन्छ । पानी घटाइएको मौका छोपेर तालमा जमेको माटो निकाल्ने काम समेत भैरहेको छ ।
२०३४ सालमा बाँधिएको बाँध पहिलोपटक ठूलो खर्चमा मर्मत गरिएको हो । तालको बाँध र सिँचाइ नहर मर्मत गर्न दुई करोड रुपैयाँमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । बाँधको सामान्य मर्मत भने आवश्यकता अनुसार वर्ष–वर्षमा भइरहन्छ ।
फेवातालको आकार बढाउन पहिलोपटक २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसपछि हाल प्रयोगमा रहेको बाँध बनाइएको हो । अब २५ वर्षसम्मलाई ठूलो खालको मर्मत गर्नु नपर्ने इन्जिनियर आचार्यले जानकारी दिनुभयो ।