काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद छ ।
जसपाभित्र पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) पक्षधर ओली नेतृत्वकै सरकारले माग पूरा गरेमा जानुपर्ने तयारीमा छन् तर पूर्वसमाजवादी पार्टी ओलीको विपक्षमा छन् ।
संसद् विघटन, संविधानको कार्यान्वयन र संघीयता समाप्त पार्न ओली नै लागेको आरोप लगाउँदै पूर्वसमाजवादी पार्टीका नेताहरुले सार्वजनिकरुपमा ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन् ।
सोमबार पूर्वराजपाका सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक छलफलमा जुटेका थिए ।
छलफलमा ओली नेतृत्वको सरकारमा जाने विषयमा छलफल भएको भए पनि कुनै टुंगोमा नपुगेको एक सांसदले बताए ।
बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा एक सांसदले भने, “हामीले अहिले ओलीलाई समर्थन गर्न हुँदैन भन्ने कहाँ लेखेको छ र ? हामीले भनेको त हाम्रो माग पहिले पूरा गर । माग पूरा भयो भने हामी ओलीकै सरकारमा जान पार्टीभित्र पनि दबाब दिन्छौँ । त्यसबेला हुँदैन भनेर कसले भन्छ ?”
सिंहदरबारमा भएको छलफलमा उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका सांसद भने उपस्थित थिएनन् ।
पूर्वसमाजवादी समूहले नमाने पार्टी फुटाएर पनि सरकारमा जानुपर्नेसम्मको बहस पूर्वराजपा समूहभित्र चलिरहेको छलफलमा सहभागी एक सांसदले बताए ।
तर जनता समावादी पार्टीका नेता राजेन्द्र महतोले अहिले पार्टीभित्र कुनै विवाद नरहेको बताए ।
उनले अहिले आफूहरुको माग जसले पूरा गरिदिन्छ उसैसँग सहकार्य हुने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने पनि संविधान संशोधन हुने अवस्था नरहेको र रेशम चौधरी रिहा गर्नका लागि सम्भावना नभएको निष्कर्ष पूर्वराजपा समूहमा देखिएको छ ।
त्यसैले ओली नेतृत्वको सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्न नसके पनि चौधरी रिहाइ, थरुहट र मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गराउन सकिने भएकाले यही सरकार ‘कम्फर्टेबल’ हुने पूर्वराजपा समूहका नेताहरुको निष्कर्ष रहेको सोमबार छलफलमा रहेका एक सांसदको निष्कर्ष छ ।
जसपा स्रोतका अनुसार भट्टराई आफ्नै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भन्ने कसरतमा पनि लागेका छन् । तर, जसपाले नेतृत्व गर्ने अवसर आए ठाकुर प्रधानमन्त्री बन्नुपर्ने मत पनि जसपाभित्र बलियो देखिएको छ ।
उपेन्द्र र बाबुराम निकट सांसदहरुले पनि छुट्टै अनौपचारिक भेला गरिरहेको यादव निकटस्थ बताउँछन् ।
अन्योलले नयाँ सत्ता समीरकण अन्योलमा
पुस ५ गते प्रतिनिधिसभा विघटनलगत्तै जसपाले विज्ञप्ति जारी गरेरै विरोध गरेको थियो ।
तर, फागुन ११ मा प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि नयाँ सत्ता समीकरणका लागि जसपाले संवाद अघि बढाएको थियो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसँग नयाँ सत्ता समीरकणका लागि छलफल गरिरहँदा जसपाले पनि कार्यदल गठन गरेर वार्ता प्रक्रिया अघि बढाएको थियो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अहिलेसम्म पार्टीमा कुनै गुटको भेला भए पनि फुटको लागि कुनै तयारी नभएको बताउँछन् ।
पार्टीभित्र अहिले एकढिक्का रहेको उनको टिप्पणी छ । “गुटका बैठक भएका भए पनि ती समायोजनका लागि भएका हुन्,” उनले भने, “अहिले सरकारमा जाने विषय र एजेन्डामा छलफल गर्न गुटका बैठक आवश्यक छैनन् ।”