नेता तथा कार्यकर्ताले ध्यान दिनुपर्ने साना तर असाध्यै महत्त्वपूर्ण विषयहरू

रामप्रसाद खनाल/राजनीति सेवा हो व्यवसाय हैन । राजनीतिक नेता तथा कार्यकर्तामा आमजनता भन्दा जीवनशैलीमा सकारात्मक भिन्नता देखिनु आवश्यक छ । अहिले राजनीतिक नेता र कार्यकर्ता माथि जनताले उनीहरुको जीवनशैली बारे प्रश्न उठाइरहेका छन् । उनीहरुका जीवन शैलीका कारण प्रणाली माथि नै प्रश्न उठिरहेको छ । राजनीतिक नेता र कार्यकर्ताका आचरण र जीवनशैलीको सकारात्मक सुधार नै यो प्रश्नको गतिलो जबाफ हुनसक्छ ।

राजनीतिक नेता तथा कार्यकर्ताहरू देश र जनताको सेवाका लागि प्रतिबद्ध हुन्छन् । उनीहरूको सानो आचरण र व्यवहारले पनि सिंगो पार्टी, लोकतन्त्र र समग्र राजनीतिक प्रणालीमा ठूलो प्रभाव पार्दछ । वर्तमान समयको बदलिँदो सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवेशमा पार्टीको साख र नेता-कार्यकर्ताको विश्वसनीयता कायम राख्न निम्न बुँदाहरूमा विशेष ध्यान दिनु आवश्यक छ:

 

१. व्यक्तिगत आचरण, सादगी र नैतिकता
सादगीपूर्ण स्वागत सत्कार: स्वागत सत्कारमा माला खादा लागाउने काम बन्द गर्नु गराउनु होस्, स्वागत कार्यकर्ताको तालीमा खोज्नुहोस्। यो सादगीले जनतासँगको दूरी कम गर्छ र पार्टीभित्रको चाकडी प्रथालाई निरुत्साहित गर्छ।

सरल जीवनशैली र सार्वजनिक यातायात: जीवनशैली सरल बनाऔँ र जनताको जीवनस्तरसँग मेल खानेगरी खर्च गरौँ । अति आवश्यक बाहेक सार्वजनिक यातायात प्रयोग गर्नुहोस् । यसले सर्वसाधारणको समस्या बुझ्न मद्दत गर्छ ।

सद्भाव र नम्रता: अग्रजको सम्मान र आफूभन्दा सानालाई माया गर्नुहोस् । सबै सँग नम्र र मिठो बोली व्यवहार गरौँ। राजनीतिमा वैचारिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ ।
मध्यपान र धुम्रपानबाट टाढा: मध्यपान र धुम्रपान नगर्ने बानी बसालौँ । यसले नेताको व्यक्तिगत स्वास्थ्य र सार्वजनिक छवि दुवैलाई सकारात्मक बनाउँछ ।

नैतिक चरित्र: चरित्र सफा राखौँ । सार्वजनिक तथा निजी जीवनमा कुनै पनि प्रकारको नैतिक स्खलनबाट टाढै रहौँ ।

२. आर्थिक पारदर्शिता र जिम्मेवारी
ऋण र सापटीको समयमै भुक्तानी: कसैसँगबाट लिएको ऋण तथा सापटी समयमै फिर्ता गरौँ । यसले आर्थिक अनुशासन र व्यक्तिगत विश्वसनीयता कायम राख्छ ।

कर तथा राजस्वको भुक्तानीमा इमानदारीता: राज्य वा सरकारलाई बुझाउनु पर्ने कर/राजस्व नछलौँ, समयमै तिरौँ । नागरिकको रूपमा आफ्नो आर्थिक दायित्व पूरा गर्नु नै सार्वजनिक पदमा बस्नेहरूको पहिलो कर्तव्य हो ।

पारिवारिक स्रोतको पारदर्शिता: आफ्ना पारिवारिक सदस्यले के गर्छन् । कस्ता व्यक्तिहरूसँग उठबस छ। व्यवसाय वा पेशा के गरेका छन्, जीविकोपार्जन कसरी गरेका छन् । व्यवसायको लगानीको स्रोत के छ? समस्या के छन्? जानकारी राख्नुहोस् । यसले नेतामाथि लाग्न सक्ने शंका वा अनैतिक संलग्नतालाई रोक्छ ।

 

३. सांगठनिक शुद्धीकरण र निष्पक्ष मूल्याङ्कन

मूल्याङ्कनको आधार: कार्यकर्ताको मूल्याङ्कन स्वागत सत्कार, चाकडी र कुरौटे कार्यकर्तामा होइन, पार्टी काम, योग्यता क्षमता, आन्दोलन प्रतिको निरन्तरता र समर्पणमा खोजौँ । चाकडी गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गरौँ ।

कमिटीसँग समन्वय: जुन जिल्ला वा क्षेत्रमा जानुहुन्छ, त्यहाँको पार्टी नेतृत्वसँगको सल्लाह र समन्वयको आधारमा मात्र कार्यकर्ता भेटघाट गर्नुहोस् । यसले पार्टीको पद्धति र चेन अफ कमाण्डलाई बलियो बनाउँछ ।

सत्यको सम्मान: चिप्ला, चिल्ला र दुबै हात मसारी मसारी कुरा गर्ने कार्यकर्ताका भन्दा खस्रा र टर्रा कुरा गर्ने कार्यकर्ताका कुरा सुन्नुहोस् । कटु सत्य सुन्ने साहस राख्नुहोस् ।

अन्तरविरोधको व्यवस्थापन: अन्तरविरोध कार्यकर्तामा होइन केन्द्रीय नेतृत्वबाटै हुन्छ । त्यसैले तपाईंको वरिपरि घुम्ने केन्द्रमा रहेकै नेताले कुनै कार्यकर्ता प्रति असाध्यै बढी सकारात्मक र कुनै कार्यकर्ता प्रति असाध्यै नकारात्मक मूल्यांकन गर्छ भने शंका गर्नुहोस्, उसको नियत ठिक छैन । अन्तरविरोधको छलफल र समाधान मित्रता पुर्वक समाधान निकालौँ।

स्थानीय पार्टी कमिटीको महत्त्व: स्थानीय तहका पार्टी कमिटीसँग सरोकार नराख्ने तर व्यक्तिगत पहुँचका आधारमा नेता आउँदा अघिपछि घुम्नेहरूलाई भेटघाट बन्द गर्नुहोस् ।

सदस्यता शुल्क र दायित्व: जुनसुकै तहको नेता / कार्यकर्ता किन नहोस् उसले आफू रहेको भूगोल वडा वा तोकिएको क्षेत्रका आधारभूत तहको कमिटी मार्फत पार्टी सदस्यता नवीकरण र बुझाउनु पर्ने अन्य आर्थिक दायित्व भुक्तानी गरेको छ छैन आफै सचेत हुनुहोस् ।

जिम्मेवारीमा केन्द्रित: आफ्नो परिभाषित काम र जिम्मेवारी बारे आफै सचेत हौं । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप नगरौँ ।

आन्तरिक समस्याको समाधान: संगठनको आन्तरिक जीवन भित्रका अन्तरविरोध र समस्या देखिनासाथ समाधानको प्रयास खोजौँ ।

पार्टीको प्रतिरक्षा: पार्टी, नेता कार्यकर्ता माथिको हमलाको प्रतिवाद गरौँ । तथ्य र तर्कका आधारमा पार्टीको बचाउ गरौँ ।

 

४. वैचारिक निष्ठा र निरन्तर अध्ययन

निरन्तर अध्ययन र बहस: पार्टीको मूल सिद्धान्त, दर्शन र इतिहासको गहिरो अध्ययनमा निरन्तर लागिरहने । नयाँ राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरूलाई आत्मसात गर्दै वैचारिक बहस र छलफललाई पार्टी जीवनको अभिन्न अंग बनाउने ।

सिद्धान्त र व्यवहारमा तालमेल: नेता तथा कार्यकर्ताको सैद्धान्तिक प्रतिवद्धता र दैनिक व्यवहारबीच तालमेल कायम गर्ने । भनाइ र गराइमा एकरूपता हुनुपर्छ ।

समसामयिक ज्ञान: देश, विदेश तथा विश्वव्यापी घटनाक्रमबारे अद्यावधिक ज्ञान राख्ने, ताकि कुनै पनि विषयमा तथ्यमा आधारित विश्लेषण प्रस्तुत गर्न सकियोस् ।

 

५. जनसम्पर्क, उत्तरदायित्व र आत्मआलोचना
वडा / टोलको कामको रिपोर्टिङ: जुनसुकै तहको नेतृत्व रहेको वडामा पार्टी काम के भएको छ स्थानीय पार्टी कमिटीसँग रिपोर्टिङ लिनुहोस् र एक तह माथिको नेतृत्वसँग भेरिफाई गर्नुहोस् । ठूला ठूला गफ चुट्ने तर आफू रहेको वडा /टो लमा पार्टी काम लथालिङ्ग हुने र निर्वाचन हार्ने गरेका थुप्रै घटना छन् । यो बारेमा ठिक ढंगले बुझ्नुहोस् ।

नियमित जनसंवाद: केवल चुनावको समयमा मात्र नभई जनताको सुख-दुःखमा नियमित रूपमा सहभागी हुने। जनताका समस्याहरू सुन्नका लागि स्थानीय तहमा खुला भेटघाट वा जनगुनासो सुनुवाइ कार्यक्रम लाई अनिवार्य गर्ने ।

सार्वजनिक सुनुवाइ र आत्मआलोचना: पार्टी, कमिटी तथा नेता कार्यकर्ताको जनताको बिचमा सार्वजनिक सुनुवाइ गरी सुझाव लिनुहोस् । काम गर्दा कमीकमजोरी पनि हुनसक्छ, त्यसबाट शिक्षा लिँदै सुधार गर्ने प्रण जनतासँग आत्म आलोचित हौं र स्टन्ट भने नगरौँ ।

प्रियतावादबाट टाढा: सबैको राम्रो बन्न सकिँदैन, त्यसैले प्रियतावादी नबनौँ । सही र सिद्धान्तनिष्ठ निर्णय लिन तयार रहनुहोस् ।

 

६. सेवा प्रवाह र जन परिचालन
सेवाग्राही बनेर अनुगमन: जनताले पाउने सार्वजनिक सेवा कस्तो छ ? सम्बन्धित कार्यालय /संघ /संस्थामा सेवाग्राही बनेर अनुगमन गर्नुहोस् तर समाधान कानुनी बाटो अवलम्बन गर्नुहोस् । दबाब होइन, पद्धति बसाल्नतर्फ लागौँ ।

अशक्तलाई सहयोग: सबै ठाउँहरूमा अशक्त र असहायहरूलाई सहयोग गर्ने भावना र व्यवहार विकास गरौँ ।

रचनात्मक आलोचना: अन्य पार्टी वा विरोधीहरूमाथि गरिने आलोचना तथ्यमा आधारित र रचनात्मक हुनुपर्छ । व्यक्तिगत आरोप-प्रत्यारोपभन्दा नीतिगत र वैचारिक विषयमा मात्र केन्द्रित हुने ।

जनतालाई नीति निर्माणमा जोड्ने: जनतालाई केवल मतदाताको रूपमा मात्र नभई पार्टीको नीति निर्माण र जन परिचालनको प्रक्रियामा जोड्ने । उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने ।

सरकारका कामको प्रचार: पार्टी नेतृत्व र सहभागी भएका सबै तहका सरकारले गरेका कामहरूको प्रचारप्रसार गरौँ ।

 

७. पारिवारिक चेतना र मिडियाको जिम्मेवार प्रयोग
पारिवारिक संस्कार: परिवारका सदस्यहरू बिच पारिवारिक कार्य विभाजन गरौँ । परिवारका सदस्यहरू सँगैबाट असल संस्कार र संस्कृतिको विकास गरौँ ।

पारिवारिक राजनीतिक चेतना: परिवारका बाबु नानीहरूलाई राजनीतिक चेतना दिऔँ र परिवारका सदस्यहरू बिच राजनीतिक छलफल र सचेतनाको वातावरण बनाऔँ ।

सामाजिक सञ्जालको जिम्मेवारी: सामाजिक सञ्जालमा नकारात्मकता, घृणा र द्वेष फैलाउने सामग्रीको ठाउँमा पार्टीका नीति, कार्यक्रम र विकासका कामहरूको प्रमाणसहितको सकारात्मक सूचना प्रवाह गर्ने । अफवाह विरुद्ध तथ्यलाई बलियोसँग प्रस्तुत गर्ने ।

सञ्चारकर्मीसँग सम्मानजनक सम्बन्ध: सञ्चारकर्मीहरूप्रति सम्मानजनक व्यवहार गर्ने र उनीहरूलाई तथ्यसहितको जानकारी समयमै उपलब्ध गराउने ।

 

यी साना तर महत्त्वपूर्ण कुराहरूमा राजनीतिक नेता तथा कार्यकर्ताले ध्यान दिन सकेमा, उनीहरूले जनतामाझ विश्वासिलो, अनुशासित र वैचारिक रूपमा सबल राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्न सक्नेछन् र अन्ततः समग्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...