पोखरा, बैशाख १२ गते ।यसवर्षको अर्नाकोट छात्रवृत्ति श्री अर्नाकोट आधारभुत विद्यालयमा अध्ययन गर्ने ९ जना छात्रछात्राहरुलाई प्रदान गरिएको छ । विद्यालयको ४६ औँ वार्षिकोत्सव एंव १८ औँ अभिभावक दिवसका अवसरमा आयोजित विशेष समारोहमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले सो छात्रवृत्ति प्रदान गरेका हुन् ।
अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानद्धारा संचालित उक्त छात्रवृति वर्षेनी सोही विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहन्दार र अनुसासित विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छ । सोही अनुसार यसवर्ष अर्नाकोटका ६ जना र खल्वा·, अर्नाक र मस्तिका १–१ जना गरि ९ जनालाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष भीम थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार समिर थापा (३), निसा खत्री (३), रिजेश पौडेल (३), गंगा कुवँर (४), भुमिसरा खत्री (५), आशिका थापा (६), विकास थापा (६), नविना कुवँर (६) र विशाल दर्जी (८) लाई यसवर्षको अर्नाकोट छात्रवृत्ति प्रदान गरिएको हो । उनिहरुलाई वर्षभरि पुग्ने गरि कपिहरु प्रदान गरिएको हो ।
समृद्ध समाज निर्माणका लागि गुणस्तरिय शिक्षा र सक्षम नागरिकका लागि बालबालिकाहरुको भविष्य माथी लगानी भन्ने ध्येयका साथ प्रतिष्ठानले वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष थापाले बताए । सामाजिक रुपमा व्यक्तिको उत्थानको आधार शिक्षा बाहेक अरु केही हुन नसक्ने थापाको तर्क छ । साथै अध्यक्ष थापाले छात्रवृत्ति स्थापनार्थ संचालित अभियानमा साथ दिने भाईबैनीहरु लगायत सवै सरोकारवालाहरु प्रति आभार समेत व्यक्त गरेका छन् ।
यसवर्ष विद्यालयका प्रध्यानाध्यापक धन बहादुर महत र अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानका तर्फबाट सोम बहादुर महत, विर बहादुर थापा र राम बहादुर थापालाई विद्यार्थी छनौटको जिम्मेवारी दिईएको थियो । हालसम्म सो विद्यालयमा अध्ययन गर्ने एक सय भन्दा धेरै विद्यार्थीहरुलाई अर्नाकोट छात्रवृत्ति प्रदान गरिएको छ ।
२०३३ सालमा स्थापित श्री अर्नाकोट आधारभुत विद्यालयले शनिबार ४६ औँ वार्षिकोत्सव भब्यताका साथ मनाएको छ ।