पोखरा, जेठ ४ गते । पोखरा महानगरपालिकाले कोभिड अस्पताल निर्माण सुरु गरेको छ । तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालय हाल महानगरको २७ नम्वर वडा रहेको भवनमा महानगरले स्थायी रुपमा अस्पताल निर्माण गर्ने काम सुरु गरेको छ । दुई तले भवनमा तत्काल एक सय बेडको कोभिड अस्पतालका रुपमा तत्काल सञ्चालनमा ल्याउन सोमबारदेखि काम सुरु गरेको छ ।
३७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयलाई स्थायी रुपमा अस्पतालका रुपमा विकास गर्ने योजना अनुसार काम अगाडी बढेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । त्यहाँ अस्पताल बनाउने भएपछि वडा कार्यालय तालचोकमा ब्यक्तिको घर भाडामा लिएर सारिएको छ । भाडामा लिएको भवनमा अहिले ‘पार्टेशन’को काम अघि बढेको छ ।
नगरपालिकाको भवनलाई अस्पताल बनाउन महानगरले थालेको प्रयासलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ ले सघाएको छ। आइसोलेसनमा ५० बेड, सर्जिकल सामाग्री, ३ वटा भेन्टिलेटर, ६ वटा आइसियु बेड लगायत बनाउन सहयोग गरेको लायन्सका सिनियर लिडर मोहनबाबु खड्काले बताउनुभयो ।उहाँका अनुसार उक्त कोभिड अस्पताल बनाउन लायन्स इन्टरनेशनलबाट १६ हजार डलर बराबरको सामग्री आउँदैछ । यस्तै, लायन्सले ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने तयारी गरेको बताउनुभयो ।
‘बेड राख्न र अरु सामाग्री काठमाडौंबाट मगाइसकेका छौं’, खड्काले भन्नुभयो, ‘बढीमा २ हप्ताभित्रै कोभिड अस्पताल संचालनमा आउँछ।’े अस्पतालमा अक्सिजन पाइप लाइन जोड्ने र बेड बनाउने काम थालिसकेको छ । यता, पोखरा महानगरले अहिले कोभिड अस्पतालका रुपमा शुरु गरेर भविष्यमा पनि अस्पतालकै रुपमा विकास गर्ने जनाएको छ । उक्त भवनलाई अस्पताल बनाउन यसअघि भएको निर्णय अहिले कोरोना महामारीका बेला कार्यान्वयन गरिहाल्नुपर्ने अवस्था आएको महानगरका प्रमुख जिसीको भनाई छ । जिसीले १ सय बेडको कोभिड अस्पताल बनाउन झण्डै २ करोड खर्च लाग्ने बताउनुभयो । ‘हामीले विभिन्न संघ, संस्थासँग मिलेर कोभिड अस्पताल बनाउन लागेका छौं’, उहाँले भन्नुभयो, ‘त्यसका लागि महानगरले मात्रै २ करोड जति खर्च गर्छ।’ उहाँले पनि २ साताभित्रै बिरामी राख्नेगरी काम अघि बढाएको जानकारी दिनुभयो ।
अहिले कोभिड अस्पताल भनिए पनि अबदेखि उक्त अस्पताललाई पोखरा महानगरीय अस्पतालका रुपमा निरन्तरता दिने बताइएको छ । महानगर मातहत रहेको शिशुवा अस्पताल मातहत रहने गरी उक्त अस्पताल संचालन गरिने प्रमुख जिसीले बताउनुभयो । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले पनि साथ दिएको छ । सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशक मदन आचार्यले जानकारी दिनुभयो । १० बेडका लागि ३ लाख ५० हजार रुपैयाँ बैंकले सहयोग गर्नेछ ।
महानगरले निर्माण गर्न लागेको भवनको महानगर प्रमुख मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अवलोकन समेत गर्नुभएको छ ।