बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता आह्वान आफूहरुलाई विभाजित गर्ने दुराशयका साथ आएको दावी गरेका छन् ।आफ्नो समूहको बैठकपछि एकल विज्ञप्ति जारी गर्दै उनले अदालतमा दायर गरिएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त पनि अस्वीकार गरेका छन् ।प्रधानमन्त्री ओली स्वयमले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने नेपालको आशय छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’

 

ओलीले गरेका अन्य प्रस्तावहरु पनि छलछालयुक्त भएको नेपालको ठहर छ ।विज्ञप्तिमा भनिएको छ, ‘उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुंदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मलयाउने र विभाजित गर्ने दुराशय देखिन्छ । अतः पार्टी विधानअनुरुप पार्टीलाई एकताबद्ध बनाउने वहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।’

 

आफूहरु सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहेको भन्दै नेपालले अन्तिम घडीसम्म यसका लागि सकारात्मक प्रयास जारी राख्ने उल्लेख गरका छन् ।‘अहिले पनि हामी त्यही चाहन्छौं र नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछौं । हामीले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्ने दृष्टिकोण राख्छौं ।’ नेपालले भनेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...