पोखरा,जेठ २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्ति भएसँगै आजै साँझ ५ जना मन्त्री सहित सपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री नेपालीसहित कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिनुभएको हो । मुख्यमन्त्री पोखरेल सहित सबै मन्त्रीलाई प्रदेश प्रमुख सीतादेवी पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर्नुभएको थियो । त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनु भएको थियो ।
७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी हुनुभएको थियो । उहाँले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गदै विजयी हुुनुभएको थियो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् । उहाँको पुख्र्यौली थलो भने तनहुँ हो ।