पोखरा, असार ३ गते ।गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ(दिपक मनाङगे) को अभिब्यक्तिप्रति नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश समितिले भत्सना गरेको छ । महासंघले विहिबार एक विज्ञप्ति जारी गदै केही दिन अगाडी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव लगायतका पदाधिकारीमाथि ब्यक्त धारणा प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गैर जिम्मेवार, असामाजिक तथा कपोलकल्पीत त्यस बक्तब्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौ गण्डकी प्रदेश संयोजक ऋषीराम गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ । खेलकुद जस्तो अनुशासित क्षेत्रमा संलग्न ब्यक्तित्वले अनुशासित, मर्यादित र तथ्यपरक हुनुपर्नेमा प्रदेश सरकारको खेलकुदमन्त्री भैसकेको ब्यक्तिले कसैप्रति पनि उडन्ते, हावादारी र हास्यास्पद धारणा राख्नु नेपाली खेल क्षेत्रकै लागि चिन्ताको विषय हो उहाँले भन्नुभयो, ‘आफनो विगतलाई चटक्कै बिर्सिएर कसैको नीजि जीवन, मार्यादा र प्रतिष्ठामा धावा बोल्ने कार्यप्रति निजले तुरुन्तै सार्वजनीक रुपमा माफी माग्न समेत हामी चेतावनी दिन चाहन्छौ ।’
देश भर्खरै संघियतामा गएकाले कपिपय नीतिगत र व्यवस्थापकीय कार्यमा आ–आफना आधारण र विमति हुनसक्छन भन्दै संयोजक गौतमले भन्नुभयो, ‘जसको लागि हामीवीच एकता, सद्भाव, सहकार्य र सैद्धान्तिक छलफल हुनुपर्नेमा सार्वजनीक ओहोदामा बसेको ब्यक्तिको त्यस प्रकारको हर्कतको जति निन्दा गरेपनि कमै हुन्छ । तसर्थ नीजको धारणाप्रति गण्डकी प्रदेश सरकार जवाफदेही हुदैपर्छ र त्यसको जिम्मा लिनैपर्छ ।’
राजीव गुरुङ र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई सार्वजनीक क्षमा माग्न जति विलम्व गरियो त्यति नै नेपाली खेलकुद क्षेत्रले यहाँहरुलाई धिक्कार्ने बताउदै आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जुन गण्डकी प्रदेशमै आयोजना हुदैन, त्यसलाई समेत यस किसिमका अभिब्यक्तिले नकरात्मक असर पर्ने सम्भावना देखिन्छ र जसको सम्पूर्ण जिम्मेवारी अन्नत प्रदेश सरकार नै हुनेछ विज्ञप्तिमा भनिएको छ ।