पोखरा, असार ११ गते । पोखराको मौजामा निर्माणाधिन फुटबल मैदानका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पोखरा महानगरले आफनो बार्षिक बजेट (रातो) किताबमा ४५ लाख रुपैयाँ विनियोजन गरेको हो । पोखरा महानगरले बिहिबार सार्वजनीक गरेको बजेटमा समावेश नगरिएपनि नगर सभाषदहरुलाई वितरण गरिएको बार्षिक बजेट पुस्तिकामा बजेट समावेश गरिएको छ ।

गत आर्थिक वर्षमा पनि महानगरले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । पोखरा महानगरपालिकाको सबैभन्दा अग्लो स्थानमा फुटबल रगंशाला निर्माण सुरु गरेको छ । महानगरपालिका वडा नमवर २० आँटीघर मौजामा पोखरा महानगरपालिकाले हाई अल्टिच्युड फुटबल मैदान निर्माणको अघिल्लो वर्ष शिलान्यास गरेर काम सुरु गरेको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले संयूक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।रंगशालाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर, त्यही अनुसार चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विस्तृत परियोजना प्रतिवेदन अनुसार १६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
चालु वर्षको बजेटले जमिन सम्याउने र चारै तीरबाट कंक्रिटवाल निर्माण गर्ने काम भैरहेको महागनगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर शादार मोहन काफ्लेले जानकारी दिनुभयो । मैदानको लेवल मिलाउने हो उहाँले भन्नुभयो,‘चालु आवको बजेटले दुई देखि पाँच मिटर माटो उत्खनन गरेर प्लेन बनाउने र प्लम कंक्रिटवाल लगाएर खेल्न योग्य बनाउने हो ।’ यसलाई प्रत्येका वर्ष बजेट व्यवस्था गरेर जाने छौ उहाँले भन्नुभयो, ‘पाँच वर्षमा योजना सम्पन्न हुन्छ भन्ने लागेको छ ।’
फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ । मौजा महानगरपालिकाको दुर्गम वडाको रुपमा चिनिन्छ । सडक सञ्जालले छोएपनि प्रभावकारी भने छैन । बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन आर्थिक वर्ष २०७६ मा साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो ।
‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’वडा नम्वर २० का वडा अध्यक्ष सिम गुरुङले भन्नुभयो,–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ ।
कास्कीकै अग्लो स्थानको फुटबल मैदानबाट उत्तर तर्फ मानवबस्ती छैन । घनाजंगल छ । त्यहाँबाट हिमाल नजिकै देखिन्छ । वडाध्यक्ष गुरुङ भन्नुहुन्छ ‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसन हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान बन्ने छ ।