काठमाडौं, असार २१ गते । चीनबाट भेरोसेल खोप ल्याउनका लागि नेपाल एअरलाइन्सको वाइडबडी ३३० जहाज बिहीबार चीनको बेइजिङ उड्ने भएको छ । ४० लाख डोज खोप ल्याइने तयारीका साथ नेपाल एअरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ ।
जहाजले पहिलो पटक असार २४ गते बेइजिङ उड्ने र २५ गते १० लाख डोज खोप ल्याएर फर्किनेछ भने त्यसपछि असार ३१ गते र साउन ७ गते पुन खोप ल्याउन जहाज चीन उड्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले खोप ल्याउन जहाजलाई तयारी अवस्थामा राख्न भन्दै समय तोकेपछि उडानका लागि सबै तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
वाइडबडी जहाजले एक पटकमा १० लाख डोज भेरोसेल खोप ल्याउन सक्छ । चीनबाट ल्याइने ४० लाख डोजका लागि थप तालिका सार्वजनिक गरिने समेत पौडेलले बताउनुभयो । चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन–डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ ।