काठमाडौँ, असार २५ गते । यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान मौसमविद्हरूको छ ।
मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो देखिएको छैन । ” उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ ।
विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । उहाँले भन्नुभयो, “हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम छ । ”