एमालेको आन्तरीक विवाद समाधान तर्फ, आजै सहमतीको सम्भावना

काठमाडौं, असार २७ गते । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टी भित्रको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । सम्भवत आज सहमती हुने दावी गरिएको छ । सहमति गर्दै आजै सार्वजनिक गर्ने तयारी भैरहेको भएपनि अझै केही विषयमा सहमती हुन बाँकी रहेको बताइन्छ । प्रतिनिधि सभा विघठन बारे सर्वोच्च अदालतको फैसला आउनुअघि पार्टी एकताको सन्देश दिन भन्दै एमालेको माधव नेपाल सहितका नेताहरुको कार्यदलका सदस्यहरु केही दिन यता सघन गृहकार्यमा जुट्नुभएको छ । कार्यदलका सदस्यहरु आजपनि सहमतीका लागि जुटेका छन् ।

सर्वोच्च अदालतले भोलि सोमबार फैसला सुनाउने संभावना रहेकाले आजै सहमतीमा पुग्ने गरी छलफल सुरु हुदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ पूरा गरी हेर्दा हेर्दैमा राखेर सर्वोच्चले यसअघि नै २८ गते पेशी तोकेको छ । सर्वोच्चको फैसला जेसुकै आएपनि पार्टी एक भएमा त्यसको खासै असर नपर्ने एमालेका नेताहरुको बुझाई छ ।

 

कार्यदलले तयार गरेको सहमतिको दस्तावेजलाई अन्तिम रुप दिने तयारीमा कार्यदलका सदस्यहरु जुट्नुभएको छ । कार्यदलका सदस्य भीमप्रसाद आचार्यकाअनुसार अहिले सहमतिलाई अन्तिम रुप दिने आन्तरिक बैठक चलिरहेको छ । सहमतिको दस्तावेजलाई अन्तिम रुपदिन वरिष्ठ नेता माधवकुमार नेपालसँग सो पक्षले आन्तरिक सहमति लिने काम गरिरहेको छ ।

 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदलका सदस्यहरुले हिजो नै सहमतिको दस्तावेजबारेमा परामर्श लिइसक्नुभएको छ । कार्यदलले जुटाएको सहमतिपत्रमा कार्यदलका सदस्यहरुले आजै हस्ताक्षर गरी अनुमोदनका लागि पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताउनुभएको छ । आज मध्यान्ह बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन भएपछि सहमतिको दस्तावेज मिडियामार्फत सार्वजनिक गर्ने तयारी एमालेको छ ।

 

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार आज दिउँसोको लागि स्थायी कमिटी बैठकको तयारी भएको छ, तर समय निर्धारण भइसकेको छैन । कार्यदलका सदस्यहरु सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन विहानदेखि गृहकार्यमा जुट्नुभएको उहाँले जानकारी दिनुभयो । आज साँझसम्म मिडियामार्फत सहमतिको दस्तावेज सार्वजनिक गरी पार्टी एक भएको घोषणा हुने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...