पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बस सञ्चालन गर्ने

प्रशासनले हस्तक्षेप गरे गिरफतारी दिन तयार, दललाई निशुल्क बस नदिने घोषणा

पोखरा, असार २८ गते । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले समितिले देशभर बस सेवा सञ्चालन गर्ने भएको छ । निषेधाज्ञाको उल्लघन गदै असार ३० गतेबाट बस सञ्चालन गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । सरकारले यातायात क्षेत्रलाई व्यवास्था गरेको बताउदै ब्यवसायी र मजदुरको रोजीरोटीका लागि बाध्य भए बस सेवा सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।


कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहिंको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म पु¥याइने दावी समेत गर्नुभयो । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिनपनि तयार रहेको स्पष्ट पार्नुभयो ।

 

यात्रुको मागका आधारमा सडकमा बस सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले सरकारले यात्रायात मजदुरलाई खोपका लागि माग गरेपछि वास्ता नगरेको बताउनुभयो । बैंक, वित्तिय संस्थाले दैनिक रुपमा व्यवसायीहरुलाई आतंकित बनाइरहेको बताउदै विमा कम्पनीले समेत लडकडाउनको अवधीमा छुट नदिएको भन्दै गुनासो समेत गर्नुभयो ।

निषेधाज्ञाका बीच नीजि सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको कम्पनीको गुनासो छ । ‘नीजि सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने ? त्यस्तो त दुनियामा कहिंपनि हुँदैन’–अध्यक्ष केसीले भन्नुभयो । यदि वैज्ञानिक हिसाबले सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने पुष्टि भएमा मात्र आफूहरुलाई मान्य हुने उहाँको भनाई थियो ।

 

अध्यक्ष केसीले बैंक तथा वित्तिय संस्थाले लोनको किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरहरुले भोकभोकै बस्नुपर्ने स्थिति रहँदापनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि आफूहरु भद्र रुपमा गाडी सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको बताउनुभयो । उहाँले भाडा समायोजन गर्ने माग पनि राज्यले सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार कोरोना भाइरस संक्रमणले देशमा लकडाउन र निषेधाज्ञा जारी भएपछि दश प्रतिशत ब्यवसायी पलायन भएको समेत बताउनुभयो ।

 

कम्पनीले गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने जनाएको छ । कम्पनीले बस चढ्ने यात्रुलाई सेनिटाइजरको ब्यबस्था गरिने बताएको छ भने बसमा चढ्दा मास्क अनिवार्य गर्ने तर मास्क यात्रु आफैले लिएर आउनुपर्ने नभएर १० रुपैयाँमा खरिद गर्नेगरी बसमै उपलब्ध गराउने अध्यक्ष केसीले बताउनुभयो । साथै हरेक दिन बसलाई निसंक्रमण गर्ने उहाँको भनाई छ ।

कम्पनीका पूर्व अध्यक्ष ऐनकुमार साहीले बाध्यतावश कोरोनाका बीच गाडी सञ्चालन गर्ने अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।यसैबीच, कम्पनीले आगामी निर्वाचनहरुमा दलहरुलाई सित्तैमा गाडी नदिने घोषणा गरेको छ । यसअघी निःशुल्क गाडी दिनेदेखि आन्दोलन र चुनावमा सहयोग गर्दापनि दलहरुले आफूहरुको समस्या समाधानमा चासो नदेखाएकाले आगामी निर्वाचनहरुमा गाडी नदिने निश्कर्षमा पुगेको अध्यक्ष केसीले बताउनुभयो । पूर्व अध्यक्ष साहीले भने चुनावमा दलहरुलाई गाडी नदिने नभई सित्तैमा गाडी नदिने भनिएको स्पष्ट पार्नुभयो । ‘चुनावमा हामी अब प्रयोग हुँदैनौं, गाडीमा कार्यकर्ता बोक्दैनौं भन्दैनौं, बोक्छौं तर पहिले सित्तैमा बोक्थ्यौं, अब भाडा लिएर मात्र बोक्छौं ।’–उहाँले भन्नुभयो । कम्पनीमा १४ सवारी साधन आबद्ध रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...