पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकीमा पछिल्लो २४ घण्टामा ६ जनाको मुत्यु भएको छ । गण्डकीमा पछिल्लो समय संक्रमणाबट मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । सोमबार गण्डकीमा १ जनाको मात्रै मृत्यु भएको थियो ।
मंगलबार मृत्युको संख्या बढेको छ । मृत्यु हुनेमा दुई जना महिला र चार जना पुरुष छन् । जसमा पाँच जनाको मृत्यु पोखरामा र एक जनाको मृत्यु चितवनमा भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा नवलपरासी पूर्व, तनहूँ, बागलुङ, स्याङ्जा, म्याग्दी र लमजुङका एक एक जना छन् । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या एक हजार आठ जना पुगेको छ । गण्डकीमा आज ४४८ जना संक्रमित निको भएको संयोजक शर्माले जानकारी दिए ।
यसैबीच कास्कीमा १४९ जनासहित गण्डकीमा आज ३४४ जना संक्रमित थपिएका छन् । योसहित गण्डकीमा कूल संक्रमितको संख्या ५९ हजार ७८५ जना पुगेको छ ।