पोखराका खोप केन्द्रमा खोप लगाउन भिड

पोखरा, असार ३० गते । गण्डकी प्रदेशमा बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ । गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप लगाउन सुरु गरिएको हो । गण्डकीका सबै जिल्लामा खोप लगाइएको छ ।

५० देखि ५४ वर्ष उमेर समूहका मानिस, पहिलो डोज लगाउन बाँकी भएकाहरू, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको प्रदेश स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै ‘क’ र ‘‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ भने नेपालमा बसिरहेका शरणार्थीलाई पनि अमेरिकी खोप नै लगाइने छ ।

 

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि यही खोप लगाउने छन् । गण्डकीमा यो लक्षित समूहका करिब १ लाख ५५ हजार जना रहेको खड्काले बताउनुभयो । त्यसमा यसअघि लगाइसकेका मानिसको संख्या घटाउँदा लक्षित समूह सबैलाई पुग्ने खड्काको भनाइ छ ।


गण्डकीमा करिब २ लाख २० हजारले पहिलो डोज लगाइसकेका छन् । करिब ६१ हजार जनाले दोस्रो डोज पनि लगाइसकेको बताइएको छ । उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सकिने छ । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने बताइएको छ । पोखरा महानगरका खोप केन्द्रमा खोप लगाउनेको भिड लागेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...