काठमाडौँ, साउन ३ गते । संघीय संसद्का दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आजलाई आह्वान गरिएको हो । अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे बस्ने छ ।सर्वाेच्च अदालतकाे संवंधानिक इजलासले असार २७ गते प्रतिनिधिसभा विघटनविरुद्द परेकाे रिटमा निवेदककै पक्षमा फैसला सुनाउँदै एक साताभित्र संसद बैठक बाेलाउन परमादेश जारी गरेकाे थियाे । यही संसदबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्नेछ ।बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।
स्वास्थ्य मापदण्डको तय, पदाधिकारी, सांसद, र कर्मचारीको कोरोना परीक्षणसमेत भइसकेको छ । सङ्घीय संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूचीसमेत तय गरेको छ । यद्यपि सरकारबाट स्पष्ट निर्देशन नआउँदा कतिवटा अध्यादेश सदनमा पेस हुने भन्ने निश्चित छैन । प्रतिनिधि सभा विघटनको अवधिमा १६ वटा अध्यादेश जारी भएका छन् । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छ ।
अध्यादेशबाहेकका विषय समेटेर सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । तयार पारिएको कार्यसूचीमा अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र विस्तारबारेको पत्र र केही शोक प्रस्ताव समेटिएका छन । कार्यसूची औपचारिक रूपमा भने आज बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम टुङ्गो लगाउने छ । बिहान १० बजेका लागि समितिको बैठक बोलाइएको छ ।