पोखरा, साउन १९ गते ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत साउन १ गते मस्तिष्कघात भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको थियो । काठमाडौंस्थित न्यूरो अस्पतालमा १९ दिनदेखि उपचाररत मेयर जिसी डिस्चार्ज भएका हुन् ।
उनी केही दिन काठमाडौंको बुढानीलकण्ठस्थित छोरीको घरमा रहने छन् । उनको साउन तीन गते टाउकोमा अप्रेशन गरिएको थियो ।अप्रेशन सफल भएपछि उनी अस्पतालमै थिए । स्वास्थ्यमा क्रमितक सुधार भएपछि चिकित्सकको सल्लाहमा आज डिस्चार्ज गरिएको हो । उहाँको देव्रेहरमा समस्या रहेको छ ।
देव्रे खुटटा र हातमा समस्या रहेको र निको बनाउन थेरापि गर्नुपर्ने भएकाले उनी केही समय काठमाडौ रहेने बताइएको छ । मेयर जिसीका प्रेस संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालका अनुसार मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहने बताउदै उनको उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि कष्ट नगर्न आग्रह गरेका छन् ।