भुम्दीकोटलाई बगैँचा गाँउ बनाउन जुट्दै युवा

पोखरा, साउन २० गते ।आफनो गाँउलाई पर्यटकीय रुपमा विकास गर्न युवाहरु जुटेका छन् । पोखरा महानगरपालिका वडा नम्वर २२ मा पर्ने भुम्दीकोट क्षेत्रलाई आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र बनाउन त्यहाँका युवाहरुले बगैँचा गाँउका रुपमा परिचित गराउने योजना बनाएका छन् । भुम्दीकोट युवा समुहले त्यही योजना अनुसार खाली जग्गामा फलफुल लगायतका विभिन्न बृक्षारोण कार्यक्रम सुरु गरेको छ । बृक्षारोपण कार्यक्रमको मंगलबार पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले उद्घाट गर्नुभयो ।

उहाँले पैयूँको विरुवा रोपेर युवाहरुले सुरु गरेको बगैँचा गाँउ बनाउने योजनालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले भुम्दीकोटको पर्यटन र होमस्टे प्रवद्र्धनमा समेत बगैचा गाँउ बनाउने योजनाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले बृक्षारोपण कार्यक्रम गर्नु मात्रै ठूलो कुरा नभएको र त्यसलाई हुर्काउने विषय महत्वपूर्ण रहेको बताउनुभयो । ‘बृक्षारोपण गर्ने कुरा ठूलो हैन । तर त्यसको संरक्षण र हुर्काउने कुरा ठूलो हो ।युवाहरुले गरेको प्रयासले सार्थकता प्राप्त गर्ने छ ।’ बृक्षारोपणले अक्सिजन प्राप्त हुने, पानीको मुहानलाई सुक्नबाट रोक्ने र भुक्षय तथा बाढि पहिरो रोकथाममा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य रत्ना गुरुङले बगैचा गाँउ बनाउने अभियान उत्कृष्ट कार्य भएको बताउदै सबैको सहयो र साथ आवश्यक हुने बताउनुभयो ।

वडा नम्वर २२ का अध्यक्ष मित्रलाल बरालले देश बाढि पहिरोले प्रभावित भैरहेका बेला युवाहरुले गरेको अभियानले वातावरणीय प्रभावलाई बचाउने बताउनुभयो ।उहाँले भुम्दीकोट रमणीय स्थल र प्राकृतिक सम्पदा तथा पर्यकटीय केन्द्र भएको बताउनुभयो । समाजसेवी दिलबहादुर गुरुङले गाँउको विकासमा युवाहरुले गरेको प्रयास नमुना रहेको बताउनुभयो ।

 

भुम्दीकोट क्लबका उपाध्यक्ष युक्तबहादुर गुरुङले विदेशमा रहेका दाजुभाईहरुबाट प्राप्त सहयोगबाट बगैँचा गाँउ बनाउने अभियान सुरु गरिएको बताउनुभयो । क्लबका अध्यक्ष दुर्गाबहादुर गुरुङ पहिलो चरणमा ८० वटा विरुवा रोपिएको बताउदै यसलाई निरन्तरता दिदै गाँउलाई नयाँ र फरक पहिचान दिन बगैँचा अभियान सुरु गरिएको बताउनुभयो । विरुवाको संरक्षणका लागि आवश्यक टिगार्ड ड्याम साईड क्लबले सहयोग गरेको छ । करिव १ लाख ५० हजार मुख्य बराबरका ३२ वटा टिगार्ड उपब्ध गराएको अध्यक्ष दर्गाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...