हेटौडा, भदौं २ । एमाले बिभाजनको अन्तिम कसरतमा जुटनुभएका बरिष्ठ नेता माधवकुमार नेपाललाई ठूलो झड्का लागेको छ । नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव समूहकी हस्ती उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमति प्रदेश संस्दीय दलको नेता चयन हुनुभएको छ ।
हेटौडामा जारी संसदीय दलको बैठकमा मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता डोरमणि पौडेलले राजीनामा दिई शाक्यलाई दलको नेता प्रस्ताव गर्नुभएको हो । पौडेलको प्रस्तवलाई सर्वसम्मत रुपमा पारित गरी उपाध्यक्ष शाक्यलाई संसदीय दलको नेता चयन गरिएको सांसद तथा एमाले केन्द्रीय सदस्य रचना खडकाले जनताटाइम्सलाई जानकारी दिनुभयो ।
‘सर्वसम्मत रुपमा अष्टलक्ष्मी शाक्य दलको नेता चयन हुनुभएको छ,’ खडकाले भन्नुभयो । एमाले बिभाजन गर्ने काठमाडौंको तयारीमा पानी खन्याउन हेटौडामा यस्तो निर्णय लिइएको हो । माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उहाँलाई मुख्यमन्त्री बनाउने योजनासहित मुख्यमन्त्री पौडेलले नै दलको नेतामा प्रस्ताव गर्नुभएको हो । यसअघि एमाले हुँदा दलको निर्वाचनमा पौडेलसँग नेतृ शाक्य पराजीत हुनुभएको थियो । पार्टी एकजुट राख्न बागमति एमालेले यस्तो सरप्राइज दिएको हो ।
अहिले नेतृ शाक्यले बैठकलाई सम्बोधन गरिरहनु भएको छ । एमालेले आज वा भोलि नै शाक्यलाई मुख्यमन्त्री बनाउने योजना बनाएको छ । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु सवै एमालेमै रहने भएका छन । शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो सरप्राइज दिएको हो ।