सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) सबैभन्दा ठूलो दल

धनगढी, भदौ २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।


१४ जना प्रदेश सभा सदस्यहरुले एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई साथ दिनुभएपछि सो पार्टी सबैभन्दा ठूलो दल बनेको हो ।आइतबारसम्म १३ जना मात्र रहेको नेकपा (एस) मा सोमबार प्रदेशसभा सदस्य माया तामाङ बोहरा थपिएपछि सो संख्या १४ पुगेको हो । निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म एमालेबाट अलग्गिनेहरुलाई दल छान्न पाउने समय दिएको छ ।

१४ जना नेकपा (एस) मा गएपछि अहिले एमालेसित १० जना प्रदेश सभा सदस्य मात्र रहेका छन् । एमाले फुट्नु अघि सो दलमा २५ जना प्रदेश सभा सदस्य रहेका थिए । २५ मध्येका एक जना अर्जुनबहादुर थापा सभामुख हुनुहुन्छ । कानुन अनुसार सभामुख कतै खुल्नु पर्ने वाध्यता छैन ।सुदूरपश्चिम प्रदेश सभामा १४ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल, १३ सदस्यीय नेकपा (माओवादी केन्द्र) दोस्रो, १२ सदस्यीय नेपाली काङ्ग्रेस तेस्रो, १० सदस्यीय एमाले चौथो र दुई सदस्यीय तत्कालिन राजपा पाँचौ दल बनेका छन् । फुटेको राजपा दुई प्रदेश सभा सदस्यहरुले कुन दल रोज्ने अझै स्पष्ट भएको छैन ।

५३ सदस्य रहने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रले एकजना झपट बोहरालाई हटाएपछि ५२ सदस्यीय मात्र रहेको छ । बोहरा एमाले प्रवेश गरेपछि माओवादीले हटाएको हो ।नेकपा (एस) ठूलो दल बनेपछि सत्ता समिकरण बदलिने अनुमान गरिए पनि भौतिक पूर्वाधार विकासमन्त्री तथा सो दलका नेता दीर्घबहादुर सोडारीले अहिले वर्तमान सरकार नै कायम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, नेकपा (एस ) र माओवादीकै सरकार कायम रहन्छ तर केही मन्त्री फेरबदल हुन सक्छन् ।सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज एमालेतिरै रहने भएपछि उहाँहरु सरकारबाट बाहिरिने बताइएको छ ।सुदूरपश्चिममा शुरुदेखि नै एमाले र माओवादीको संयुक्त सरकार सञ्चालन भइरहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...