१८ वर्षपछि ठूलो वर्षा, छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा

काठमाडौँ, भदौ २२ गते । मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो ।


१८ वर्षअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।पछिल्ला वर्षहरूमा बढीमा ११५ मिलिमिटरसम्मको भारी वर्षा काठमाडौँमा रेकर्ड भएको पाइएको छ । काठमाडौँमा मनसुनी वायुको प्रभावसँगै स्थानीय वायुको चाप पनि बढेपछि ठूलो वर्षा भएको मौसमविद् कँडेल सुनाउनुहुन्छ । उहाँले दिनभर चर्को घाम लाग्दा जमिन तातिएपछि बनेको स्थानीय बादल मनसुनी वायुमा मिसिन पुगेको जानकारी दिनुभयो ।


आइतबार राति बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भएको छ । त्यसअनुसार सिन्धुलीको हरिहरपुरमा १३४ मिलिमिटर, बाँकेमा १३३ मिलिमिटर, भक्तपुरको नगरकोटमा १२२ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ११४.४ मिलिमिटर र प्युठानको स्याउलीमा १११.८ र चितवनको चरतरेमा १०९.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।उत्तरपश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै दुई दिन नेपालमा मनसुन सक्रिय हुने भएको छ । मङ्गलबार रातिसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी सोमबार देशका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको छ । पहिरोले रोल्पामा दुई जना र जाजरकोटमा एक जना, बाढीले मकवानपुरमा दुई जना र प्युठानमा अविरल वर्षाको चपेटामा परेर एक जना गरी छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोमा परेर अन्य चारजना घाइते भएका छन् । मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण १२९ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना बेपत्ता हुनुका साथै १२७ जना घाइते भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...